श्रेणी : राजनीति
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने बताएका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै सभापति देउवाले कांग्रेसको तर्फबाट प्रधानमन्त्रीलाई विश्वासको मत दिने बताएका हुन् ।
उनले सरकारको गुण र दोषका आधारमा विश्लेषण गरेर सरकारलाई विरोध र समर्थन गर्ने बताए । उनले आफू प्रतिपक्षी दलको रुपमा रहने र अवस्थाअनुसार समर्थन र विरोध गर्ने बताए ।
उनले भने, ‘हामी पुष्पकमल दाहालजीको नेतृत्वको सरकारमा सहभागी हुँदैनौँ । र प्रतिपक्ष दलको रुपमा भूमिका निर्वाह गर्ने निर्णय गरेका छौँ । हामी प्रतिपक्षमा रहन्छौँ।’
नेपाली कांग्रेस संवाद, सहमतिका आधारमा अघि बढ्ने कुरामा विश्वास गर्दै आएको भन्दै उनले संविधान निर्माणका क्रममा धेरै मतभेद रहँदा पनि मिलेर संविधान निर्माण गर्न सफल भएको बताए ।
उनले अहिलेको परिस्थिति पनि निकै जटिल भएकाले सबै राजनीतिक दलहरुका बीचमा सहमति र सहकार्य आवश्यक रहेको उल्लेख गरे । सरकारका काम कारबाही सकारात्मक हुने कामना गर्दै उनले विकास गर्ने सबैको साझा लक्ष्य भएकाले त्यसमा सरकारले काम गर्नुपर्ने बताए।
मुलुकको अर्थतन्त्रमा देखिएको समस्यामा सरकारले विशेष ध्यान दिनुपर्ने भन्दै देउवाले प्रतिनिधि सभा विघटन हुन्छ भन्नुभन्दा पूर्ण कार्यकाल चल्न दिनुपर्छ भन्ने मनसाय राख्नुपर्ने बताए।
प्रतिक्रिया