
श्रेणी : मधेस
बीरगन्ज,०२ जेठ । बारा जिल्लाको सदरमुकाम कलैयामा विद्युत् आपूर्ति समस्या दिनदिनै गम्भीर बन्दै गएको छ। यदि अब पनि समाधान गरिएन भने, अर्को वर्षदेखि यहाँ बस्नसमेत गाह्रो हुने चेतावनी नेपाल विद्युत प्राधिकरण, कलैया शाखाका प्रमुख इन्जिनियर हिमान्सु कुमार यादवले दिएका छन्।
उनका अनुसार, “सबैलाई लाइन चाहिएको छ तर पोल गाड्न नदिने प्रवृत्तिले समस्या झनै बढेको छ।”
प्राधिकरणका अनुसार, अत्यधिक लोड, प्रविधिगत समस्या र मर्मतका कारण हाल अस्थायी रूपमा विद्युत् सेवा प्रभावित भइरहेको छ। हालको ३३ केभी लाइन बारम्बार ट्रिप हुने, ट्रान्सफरमर जल्ने, तार झर्नेजस्ता समस्या बढ्दै गएको यादवको भनाइ छ।
यादव भन्छन्, “पहिलाको तुलनामा विद्युत् माग धेरै बढेको छ, तर स्रोत अपुग छ। लाइनमा हुकिङ गरेर चोरी गर्दा तार जुध्ने र फ्युज जाने समस्या पनि देखिएको छ।”
त्यस्तै, लो–रेटिङ कन्डक्टर हटाएर नयाँ जडान गर्न खोज्दा वीरगन्ज क्षेत्रमा स्थानीयको अवरोधले काम रोकिएको छ। कोल्बी–१, महवामा पनि स्थानीयको असहयोगका कारण कोल्बि ३३ केभी लाइन सुचारु हुन सकेको छैन।
विद्युत् चोरी व्यापक भएको भन्दै यादवले सम्बन्धित सबै पालिका र स्थानीय सरकारलाई ध्यान दिन आग्रह गरेका छन्।
दDistribution Centre का सुपरभाइजर दिपेन्द्र कुमार साहले तत्काल जनप्रतिनिधि, जनता र सरोकारवालाले मिलेर पहल गरे समस्या समाधान गर्न सकिने बताएका छन्। उनले पिलुवा–कलैया ३३ केभी लाइन छिटोभन्दा छिटो सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन्।


प्रतिक्रिया