श्रेणी : BANNER
वीरगंज (पर्सा), २६ भदौ । नेपाल विद्युत प्राद्यिकरण वितरण केन्द्र कलैया सब स्टेशनबाट बहुमूल्य विद्युतीय सामाग्री कर्मचारीले नै बेचेको घटना बाहिरिएको छ । चार पाँच महिना अघि कलैया सब स्टेशनमा रहेको ११ हजार फिडरको सामाग्री परिवर्तन गरिएको थियो । ११ हजार भोल्टको फिडरमा समस्या देखिएपछि विद्युत प्राद्यिकरण वितरण केन्द्र काठमाडौंले ठेकेदार मार्फत फिडरका सामानहरु परिवर्तन गराएको थियो ।
सोही सामानहरु कलैया सब स्टेशनमा कार्यरत सहयोगी कन्हैया पाठकले गेटपालेसँग मिलेर पुरानो पाइनल बोर्ड सहितको सामानहरु विक्री गरेको घटना बाहिरिएको हो । पुरानो पाइलन बोर्ड सहित तामा, पित्तलको बहुमूल्य सामानहरु करिब ५ लाखमा विक्री गरिएको बताइएको छ । विद्युत प्राद्यिकरण वितरण केन्द्र कलैयामा गेटपाले ठेकेदारका व्यक्ति हुन् भने पाठक सहयोगी (हेल्फर) हुन् । दुबैजना मिलेर प्राद्यिकरणको सम्पत्ति विक्री गरेको श्रोतले जनाएको छ ।
कुनैपनि विद्युतीय सामाग्री परिवर्तन गर्दा पुरानो सामान ल्याएर प्राद्यिकरणको मातहतमा राख्ने गरिएको छ तर पाठकले परिवर्तन गरिएको पुरानो सामानलाई बेचेको श्रोतको दाबी छ । पाठक पहिलादेखि नै प्राद्यिकरणको विभिन्न सामानहरु विक्री गर्न माहिर मानिएका व्यक्ति हुन् । कहिले प्राद्यिकरणको पुरानो सामानहरु विक्री गर्ने, कहिले कर्मचारी धम्काउने जस्ता कामहरु गर्ने उनको बानी छ । प्राद्यिकरणको सामान विक्री भएको चार पाँच महिना हुन लाग्दा पनि कार्यालय प्रमुखलाई सुइको छैन ।
कार्यालय प्रमुखले आफू अनभिज्ञ सरह प्रस्तुत भइरहेका छन् तर कार्यालय प्रमुखको जानकारी बिना सामान कसरी विक्री भयो ? खोजबिनको विषय हो । यसमा उनको पनि संलग्नता छ कि ? प्रश्न उब्जिएको छ । त्यहाँ कार्यरत अन्य कर्मचारीले सामानहरुको खोजबिन गरेपछि यो घटना बाहिरिएको हो । करिब २० दिन अघि मात्रै अध्ययनको लागि काठमाडौं हिँडेका इन्जिनियर सन्दिप साहको संरक्षणमा सहयोगी पाठकले सामान विक्री गरेको त्यहाँ कार्यरत अन्य कर्मचारीहरुले बताएका छन् ।
सामान बेचिएको घटनाबारे अन्य कर्मचारीहरुले खोजबिन गर्दा इन्जिनियर सन्दिप साह सहित कार्यालय प्रमुख ऋषिकेश वर्णवालले उल्टै सामान खोजबिन गर्ने कर्मचारीलाई नै हप्काउने गरेको कर्मचारीहरुको गुनासो छ । कार्यालय प्रमुख वर्णवालले प्राद्यिकरणलाई आफ्नो मनमौजी तरिकाले संचालन गरि रहेको कर्मचारीहरुको आरोप छ ।
सरकारले उपलब्ध गराउने सेवा सुबिधा पनि फिल्डमा खट्ने कर्मचारीहरुलाई नदिने गरेको बताइएको छ । फिल्डमा खट्ने कर्मचारीहरुले नयाँ भ¥याङ्ग, नयाँ औजार माग्दा कार्यालय प्रमुखले उल्टै हप्काउने गरेको र बेचिएको समानको बारे आवाज उठाउँदा अन्यत्र सरुवा गर्ने गरेको बताइएको छ । यसबारे कार्यालय प्रमुख ऋषिकेश वर्णवालले सामान बेचिएको घटनाबारे आफूलाई जानकारी नरहेको बताए ।
उनले भने ‘घटना के हो ? सामान कसले बेच्यो’ यसबारे विस्तृत बुझ्छु । कलैया सब स्टेशनमा रहेको ११ हजार भोल्टको पुरानो फिडरलाई फेरिएको हो, तर त्यो पुरानो सामान कहाँ छ ? कसले बेच्यो ? आफूलाई केही जानकारी नभएकोले क्षेत्रीय कार्यालय जनकपुरबाट पनि यस घटनाबारे जानकारी आएको हुनाले सत्य तथ्य के हो ? आफू चाँडै बुझ्ने बताए ।
केही दिन अघि मात्रै बाराको फेटा गाउँपालिकामा एकजना सेवाग्राहीले विद्युत चोरी गरेको पाएपछि इन्जिनियर सन्दिप सहितको ५ जनाको टोलीले सेवाग्राहीको मिटर खोलेका थिए तर तत्कालै सेवाग्राहीले ५० हजार रुपैयाँ घुस दिएपछि कर्मचारीहरुले पुनः मिटर जडान गरेका थिए । ५० हजार रुपैयाँ घुस लिएको कार्यालय प्रमुख वर्णवाललाई जानकारी भएपछि ५ जनै कर्मचारीले पुनः पैसा फिर्ता दिएका थिए । यसबाट पनि विद्युत प्राद्यिकरण वितरण केन्द्रमा खुलेयाम घुसको धन्दा हुने गरेको पुष्टि हुन्छ । यो घटना भएको एक महिना नबित्दै त्यही कर्मचारीहरुको टिमले ११ हजार भोल्टको पुरानो फिडरको सामानहरु बेचेका थिए । वीरगंज टाईम्स

प्रतिक्रिया