
श्रेणी : प्रदेश
पोखरा, १७ माघ । शिक्षामन्त्री विद्या भट्टराईले विद्यालय शिक्षा विधेयक संसदबाट पारित गर्न नसके पदमा नबस्ने उद्घोष गरेकी छिन् । नेकपा एमालेको भ्रातृ संगठन नेपाल राष्ट्रिय शिक्षक संगठनको प्रथम प्रदेश परिषद् बैठकमा उनले विधेयक अघि बढाउन असफल भए आफू पद त्याग गर्न तयार रहेको स्पष्ट पारिन् ।
‘विद्यालय शिक्षा ऐन आउँदैन भने म पद छोड्छु। विधेयक ल्याउने भनेर बसेको हो, सक्दिनँ भने बस्दिनँ,’ मन्त्री भट्टराईले भनिन् ।
उनी शिक्षा क्षेत्रमा देखिएको समस्याको समाधान गर्न लागिपरेको बताउँदै शिक्षा विधेयकलाई यही अधिवेशनबाट पारित गर्न आफू प्रतिबद्ध रहेको उल्लेख गरिन् ।
कार्यक्रममा शिक्षक नेताहरूले ऐन नल्याएको, शिक्षक सरुवा समस्याबारे ध्यान नदिएको जस्ता आरोप लगाएपछि मन्त्री भट्टराईले आफू पदमा बस्ने कुनै स्वार्थ नरहेको र समुदायको हितमा काम गर्न नसके पद छोड्न तयार रहेको दोहोऱ्याइन् ।
मन्त्री भट्टराईले शिक्षामा सुधारका लागि प्रारम्भिक बाल विकास केन्द्र (ECD) र विद्यालय कर्मचारीका तलब व्यवस्थापन गर्न आगामी बजेटमार्फत समाधान ल्याउने बताइन् ।
उनले संविधानले विद्यालय शिक्षा स्थानीय तहको एकल अधिकारमा राखेको व्यवस्था विधेयकमार्फत स्थापित गर्नुपर्नेमा जोड दिँदै शिक्षण क्षेत्रको सुधारका लागि सबैको साझा प्रयास आवश्यक रहेको उल्लेख गरिन् ।
यसै अवसरमा, विधेयक संशोधनमा सांसदहरूको सहभागिताबारे जानकारी दिँदै भट्टराईले सुझाव संकलनपछि संसदमा विधेयक टुंगोमा पुर्याउने प्रक्रियामा आफू र मन्त्रालय सक्रिय रहेको बताइन् ।

प्रतिक्रिया