
श्रेणी : मधेस
जनकपुरधाम, २१ चैत्र । जनकपुरधाम उपमहानगरपालिकाले नगरका सम्पूर्ण विद्यालयमा एकरूपता कायम गर्न पाठ्यपुस्तकहरूको चयनमा समानता ल्याउने निर्णय गरेको छ। नगर शिक्षा समिति र निजी विद्यालय सङ्गठन (प्याब्सन) का नगर संयोजक दीपक ठाकुरले आज यस निर्णयको जानकारी दिएका छन्।
ठाकुरका अनुसार, “विद्यार्थीहरूलाई समान शैक्षिक अवसर उपलब्ध गराउनु हाम्रो प्राथमिकता हो, र यस निर्णयले शिक्षामा गुणस्तर वृद्धि गर्दै विद्यार्थीलाई समान अध्ययन वातावरण उपलब्ध गराउनेछ।” उनले स्थानीय शिक्षा समिति र अन्य सरोकारवालाहरूसँग समन्वय गरेर प्रभावकारी कार्यान्वयनको आह्वान गरेका छन्।
यस निर्णयअनुसार, प्याब्सन, एनप्याब्सन लगायतका संगठनहरू बीच छलफल गरी नगरका निजी र सरकारी विद्यालयहरूले एउटै पाठ्यपुस्तक प्रयोग गर्ने सहमति भएको छ। पाठ्यपुस्तकहरूको छनोट पाठ्यक्रम विकास केन्द्रद्वारा स्वीकृत पाठ्यक्रममा आधारित हुने जनाइएको छ। आउँदो आइतबार पाठ्यपुस्तकको नामावली सार्वजनिक गरिने जानकारी दिइएको छ।


प्रतिक्रिया