वीरगन्ज :

विकास र रोजगारीलाई मुख्य एजेन्डा बनाउँदै रिमा यादव चुनावी मैदानमा

श्रेणी : BANNER

2 hours
Pradeep Sah
1.7kViews
1128 Shares

वीरगञ्ज, २८ माघ। आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालेले वीरगञ्ज महानगरपालिका वडा नम्बर–२७ कुहडीमा वडास्तरीय अगुवा तथा कार्यकर्ता भेला आयोजना गर्दै चुनावी तयारीलाई तीव्र बनाएको छ। उक्त भेलाले एमालेको स्थानीय संगठन विस्तारसँगै चुनावी माहोललाई थप तातो बनाएको देखिएको छ।


कार्यक्रममा विभिन्न राजनीतिक दल परित्याग गर्दै सयौँ स्थानीयवासी एमालेमा प्रवेश गरेका थिए। नवप्रवेशीहरूको सहभागितालाई एमालेले आगामी निर्वाचनमा जनमत आफ्नो पक्षमा सुदृढ हुँदै गएको संकेतका रूपमा लिएको छ।
भेलामा एमालेका केन्द्रीय सदस्य तथा पर्सा निर्वाचन क्षेत्र नम्बर–२ का इन्चार्ज विजय कुमार सरावगीको प्रमुख उपस्थिति रहेको थियो। उनले सम्बोधनका क्रममा संगठनात्मक एकता र जनसम्पर्कलाई बलियो बनाउनु अहिलेको आवश्यकता रहेको उल्लेख गर्दै कार्यकर्तालाई घरदैलो अभियानलाई थप प्रभावकारी बनाउन निर्देशन दिए। उनले आगामी निर्वाचनलाई परिवर्तन र स्थायित्वको निर्णायक मोडका रूपमा चित्रण गर्दै एमालेको जीत सुनिश्चित गर्न सबै तहका कार्यकर्ता सक्रिय हुनुपर्ने धारणा व्यक्त गरे।
त्यस्तै, पर्सा क्षेत्र नम्बर–२ की प्रतिनिधिसभा सदस्य पदकी उम्मेदवार रिमा कुमारी यादवले निर्वाचनपछि क्षेत्रको समग्र विकासलाई प्राथमिकता दिने प्रतिबद्धता दोहोर्‍याइन्। उनले शिक्षा, स्वास्थ्य सेवा विस्तार, पूर्वाधार विकास र रोजगारी सिर्जनालाई आफ्नो मुख्य एजेन्डा बनाउने स्पष्ट पारिन्। जनताको विश्वास र सहयोगले मात्रै विकास सम्भव हुने उल्लेख गर्दै उनले मतदातालाई सहकार्यका लागि आह्वान गरिन्।
कार्यक्रमकै क्रममा नवप्रवेशीहरूलाई उम्मेदवार यादव र नेता सरावगीले टीका तथा खादा लगाएर औपचारिक रूपमा पार्टीमा स्वागत गरेका थिए। उक्त भेलाले निर्वाचन केन्द्रित अभियानलाई अझ योजनाबद्ध र परिणाममुखी बनाउने एमाले नेतृत्वको दाबी रहेको छ।
भेलामा कुहडी क्षेत्रका स्थानीय अगुवा, बुद्धिजीवी, सर्वसाधारण नागरिकसहित सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादव, एमालेका स्थानीय नेता–कार्यकर्ताको उल्लेखनीय सहभागिता रहेको थियो। एमालेले यस प्रकारका भेला तथा जनसम्पर्क कार्यक्रमलाई आगामी दिनमा अझ विस्तार गर्ने तयारी गरेको जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *