श्रेणी : BANNER
बीरगन्ज,२४ पुस । पर्साको पोखरिया नगरपालिका-८, जगतपुरमा वाइफाईको विषयमा भएको विवादले ८० वर्षीय हजुरबुवा रामजान देवानको ज्यान गएको छ। हजुरबुवामाथि कुटपिट गरेको आरोपमा २० वर्षीया खुश्बु खातुन र १८ वर्षीय काबुल देवानलाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर लम्सालका अनुसार, घरमा वाइफाई बन्द गर्ने विषयलाई लिएर सोमबार राति घरायसी विवाद भएको थियो। हजुरबुवाले वाइफाई बन्द गर्न भनेपछि नाति-नातिनीले उनको गम्भीर कुटपिट गरेका थिए।
घटनापछि गम्भीर घाइते भएका रामजानलाई बीरगन्ज हेल्थ केयर हुँदै न्युरो अस्पताल पुर्याइएको थियो। तर, बिहान उपचारकै क्रममा उनको मृत्यु भएको लम्सालले बताए।
“सामान्य विवादबाट सुरु भएको झगडाले गम्भीर रूप लिएपछि हजुरबुवाको मृत्यु भएको छ,” लम्सालले भने। “अनुसन्धानमा वाइफाईको विषयलाई लिएर विवाद भएको खुलेको छ।”
घटनामा संलग्न नाति-नातिनीलाई वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको टोलीले पक्राउ गरेको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
प्रतिक्रिया