बीरगन्ज,२७ चैत । बीरगन्ज महानगरपालिका वडा नं. ८ ले अन्ततः आफ्नै सुविधासम्पन्न भवन पाएको छ। नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन महानगर प्रमुख राजेशमान सिंह ले एक कार्यक्रमबीच गरेका हुन्।
आर्थिक वर्ष २०७९/८० मा टेन्डर आह्वान गरी सुरु गरिएको निर्माण कार्य एसडी कन्स्ट्रक्सन ले करिब ७९ लाख रुपैयाँ लागतमा सम्पन्न गरेको हो। दुई तले पक्की संरचनामा बनेको यो भवन अब सेवा प्रवाहका लागि पूर्ण रूपमा सञ्चालनमा आएको छ।
यसअघि वडा कार्यालयको आफ्नै भवन नभएकाले विद्यालयको कोठाबाट सेवा सञ्चालन हुँदै आएको थियो, जसले सेवाग्राहीलाई असहजता हुँदै आएको थियो। नयाँ भवन सञ्चालनमा आएपछि सेवा प्रवाह थप व्यवस्थित, छिटो र नागरिकमैत्री हुने अपेक्षा गरिएको छ।
उद्घाटन समारोहमा बोल्दै महानगर प्रमुख सिंहले वडा तहको सेवा प्रभावकारी बनाउन भौतिक पूर्वाधारको विकास अपरिहार्य रहेको बताए। उनले आगामी दिनमा यस्ता पूर्वाधार निर्माणलाई निरन्तरता दिने प्रतिबद्धता पनि व्यक्त गरे।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णसहित विभिन्न वडाका जनप्रतिनिधि, स्थानीय बुद्धिजीवी तथा सर्वसाधारणको उपस्थिति रहेको थियो।

प्रतिक्रिया