
श्रेणी : मधेस
रौतहट,३१ वैशाख । दुई वर्षदेखि ब्रेन ट्युमरसँग जुझिरहेका पत्रकार फणि महतको ४० वर्षको उमेरमा निधन भएको छ। उनका निकटजनका अनुसार महतले गएराति साढे १० बजे काठमाडौंको माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा अन्तिम सास लिए।
रौतहटको चन्द्रपुर नगरपालिका–४ निवासी महत दुई दशकभन्दा बढी समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय थिए। उनी चन्द्रपुरस्थित रेडियो सुप्रिमका सञ्चालक तथा अन्नपूर्ण पोस्ट दैनिकका संवाददाता थिए। साथै, नेकपा एमाले निकट प्रेस चौतारी नेपालका मधेस प्रदेश अध्यक्षका रूपमा पनि उनले महत्वपूर्ण भूमिका निभाएका थिए।
ब्रेन ट्युमरको समस्या देखिएपछि महतले भारत र नेपालका विभिन्न अस्पतालमा उपचार गराउँदै आएका थिए। तर, लामो प्रयासपछि पनि स्वास्थ्यमा सुधार आउन नसकेपछि अन्ततः उनले जीवनसँगको लडाइँ हार्नुपर्यो।
उनको असामयिक निधनप्रति नेपाल पत्रकार महासंघ, प्रेस चौतारी नेपाल लगायत थुप्रै पत्रकार संगठन तथा संस्थाले गहिरो दुःख व्यक्त गरेका छन्। पत्रकार महासंघले विज्ञप्ति जारी गर्दै महतको निधनले पत्रकारिता क्षेत्रमा ठूलो क्षति पुगेको बताएको छ।
उनीबारे प्रेस चौतारीका अध्यक्ष गणेश पाण्डेले भने, “फणि साथी असल पत्रकार मात्र होइन, संगठन र समाजप्रति प्रतिबद्ध एक सच्चा व्यक्तित्व थिए। उनको निधनले हामीलाई स्तब्ध बनाएको छ।”
स्व. महतको पार्थिव शरीर आज अन्तिम श्रद्धाञ्जलिका लागि चन्द्रपुर पुर्याइने र त्यसपछि अन्त्येष्टि गरिने जनाइएको छ।


प्रतिक्रिया