
श्रेणी : BANNER
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लोकतान्त्रिक र वाममन्थी दल सबै मिलेर अघाडि बढ्नु पर्ने बताएका छन् ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले लोकतान्त्रिक र वामपन्थी शक्तिहरु नै मिलेर देशमा परिवर्तन भएको बताएका हुन् । उनले १०४ वर्षे राणा शासन र राजतन्त्रको अन्त्य पनि सहमति र सहकार्यमार्फत भएको बताए ।
उनले भने, ‘हामी मिल्दा देश अघि गएको छ। नमिल्दा देश संकटतर्फ गएको छ ।’ उनले आफू यसपटक संकल्पका साथ उभिएको र विगतका गल्ती कमजोरी सच्याएर काम गर्ने बताए ।
उनले भने, ‘आज परिस्थितिवश तेस्रोपटक प्रधानमन्त्रीको रुपमा विश्वासको मतका लागि अनुरोध गर्न यो सम्मानित सदनको रोस्ट्रममा उभिएको छु। मैले भनी नै हालेँ, म यसपल्ट फरक संकल्पका साथ संसद् सामु उभिएको छु ।’
उनले अब संसद्मा पक्ष र प्रतिपक्ष भन्ने कुनै पक्ष नै नरहेको बताए । प्रधानमन्त्री प्रचण्डले देश अहिले पनि संकटमा रहेको बताउँदै त्यसको समाधान हुने दाबी गरे ।
उनले ५० लाख गरिबीको रेखामा रहेका नेपालीलाई माथि उकास्न र विदेशमा रहेका नेपालीलाई स्वदेशमा फर्काएर आत्मसम्मान जीवन दिनका लागि पनि अर्थपूर्ण सहकार्य आवश्यक भएको उल्लेख गरे ।
प्रधानमन्त्री प्रचण्डले विगतका २ कार्यकालभन्दा यसपटक फरक हुने विश्वास दिलाए । उनले विगतमा दुई पटक प्रधानमन्त्री भएको, तर तत्कालीन समयमा आफूले धेरै गर्न नसकेको स्वीकार गर्दै यसपटक त्यसलाई चिर्ने चुनौती रहेको बताए ।
उनले भने,‘यसअघि ९–९ महिना प्रधानमन्त्री भएँ । पहिलोपटक हुदाँ न अनुभव थियो न जानकारी। भित्र र बाहिरको संघर्षमा जुझ्दा जुझ्दै मेरो समय बितेको थियो । मेरो दोस्रो कार्यकाल ठूलो वैदेशिक उतार–चढाव आएको समयमा भएको थियो। संविधान संशोधनमार्फत् मधेसलाई विश्वास लिने प्रयास गरेको थिएँ । स्थानीय निकायको निर्वाचन गर्दै संविधान कार्यान्वयन गर्ने प्रयास गरेका थिएँ ।’
उनले आफू तेस्रोपटक प्रधानमन्त्री भएकाले इमान्दारिताका साथ अघि बढ्ने भन्दै विगतमा चुकेको, तर अब यो गल्ती गर्ने छुट नभएको बताए। उनले शिक्षा र स्वास्थ्य राज्यको दायित्वबाट विदेशिनुपर्ने अवस्था आउनु दुःखद भएको भन्दै जनताको असन्तुष्टि रहेकाले त्यसलाई बदल्ने गरी आफूले काम गर्ने बताए ।
उनले आफ्नो कार्यकालमा भ्रष्टाचार नियन्त्रण, न्यायलयको शुद्धीकरण र आर्थिक वृद्धि दुई अंकमा पुर्याउने प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया