श्रेणी : BANNER
बुटवल । रुपन्देहीमा दुई प्रदेश कमिटी सदस्यसहित ३२ जनाले नेकपा एमाले परित्याग गरेका छन् । बुधबार रुपन्देही–१ मा लुम्बिनी प्रदेश कमिटी सदस्य शैलेन्द्र उपाध्याय र सनोज कुमार यादवसहित ३२ जनाले एमाले परित्यागको घोषणा गरेका हुन्। यादव रोहिणी गाउँपालिका निर्वतमान गाउँपालिका अध्यक्ष समेत हुन् ।
बुधबार पत्रकार सम्मेलन गरी केही दिनअघि नेकपा एमाले पार्टी परित्याग गरेका घनश्याम भुसाललाई समर्थन गर्ने गरि पार्टी परित्याग गरेको उनीहरूले बताएका छन् । पार्टी परित्याग गर्नेमा जिल्ला कमिटी सदस्य मुलायम सिंह यादव, रोहिणी गाउपालिका सचिव इन्द्रजित कुमार राय, गाउँपालिका कमिटी सदस्य जाहिद हुसेन खान लगायत रहेका छन् ।
पार्टीमा नीति भन्दा व्यक्ति हावी भएको र स्थानीय तह निर्वाचनमा विपक्षीलाई सहयोगको आरोप लगाउँदै उनीहरुले सामूहिक राजीनामा दिएका हुन् । राजीनामा दिएका प्रदेश कमिटी सदस्य शैलेन्द्र उपाध्यायले केन्द्रमा केपी ओलीले निरंकुशता लादेजस्तै रुपन्देही–१ मा छविलाल विश्वकर्माले निरंकुशता लादेका कारण पार्टी परित्याग गर्न बाध्य भएको बताए ।
उपाध्यायले आफूहरुले मेहनतले निर्माण गरेको पार्टी संगठन अहिले व्यक्तिवाद हाबी हुँदा तहसनहस हुन पुगेको टिप्पणी गरे। घनश्यामजस्तो इमान्दार नेतालाई पाखा लगाएर तानाशाह प्रवृत्ति लादिएको उनको भनाइ छ ।
यस्तै, अर्का प्रदेश कमिटी सदस्य सनोज कुमार यादवले पार्टीले स्थानीय तह निर्वाचनमा सहयोग नगरेको आरोप लगाए। यादवले विपरीत ध्रुबका पार्टीहरुसँग गठबन्धन गरेर अहिले एमालेले जनतालाई झुक्याउन खोजेको दाबी गरे । रुपन्देही–१ मा घनश्याम भुसालले सत्ता गठबन्धनको सहयोगमा स्वतन्त्र उम्मेदवारी दिएपछि एमाले त्यागेर उनको पक्षमा खुल्नेहरूको संख्या बढिरहेको छ।
प्रतिक्रिया