
श्रेणी : अपराध
सप्तरी, २३ साउन । सप्तरीको राजगढ गाउँपालिका–२ मा प्रहरीको गोली लागी मृत्यु भएका लालु यादवको घटनालाई लिएर सुरु भएको आन्दोलन प्रहरी निरीक्षक विरेन्द्र यादवलाई पदमुक्त गर्ने सहमतिसँगै स्थगित गरिएको छ।
बिहीबार बसेको सर्वपक्षीय तथा सर्वदलीय बैठकले घटनाको निष्पक्ष छानबिन सम्पन्न नभएसम्म गोली चलाउने प्रहरी निरीक्षक यादवलाई तत्काल पदमुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको हो। यही सहमतिसँगै पीडित पक्षले जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय अगाडि जारी विरोध कार्यक्रम फिर्ता लिएको छ।
आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले टायर बालेर सडक अवरुद्ध गरेका थिए। जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी जितेन्द्र कुमार बस्नेतले आन्दोलन स्थगित भएको पुष्टि गरेका छन्।
गोली लागी निधन भएका लालु यादव स्थानीय खुबलाल जगरनाथ शक्ति आधारभूत विद्यालयका व्यवस्थापन समिति अध्यक्षसमेत थिए। उनको मृत्युप्रति विभिन्न दल, संघसंस्थाले गहिरो दुःख प्रकट गरेका छन्।
बैठकले घटनाको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न सिफारिस गर्ने निर्णयसमेत गरेको छ। साथै, मृतकका परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउने विषयमा छानबिन प्रतिवेदनको आधारमा निर्णय हुने सहमति भएको छ।
सहमति भएपछि पीडित परिवारले शव बुझ्ने निर्णय गरेको छ भने हिन्दू परम्पराअनुसार अन्त्येष्टि तयारी भइरहेको मृतकका दाजु मनोज यादवले जानकारी दिएका छन्।
यस घटनाको विरोधस्वरूप सप्तरी उद्योग वाणिज्य संघले बिहीबार राजविराज बन्दको आह्वान गरेको थियो। बन्दका कारण सदरमुकामका सबै बजार र पसलहरू पूर्ण रूपमा बन्द रहेका थिए।


प्रतिक्रिया