वीरगन्ज :

लालपर्सामा विराट कुस्ती दंगलको उद्घाटन, प्रदीप यादवले दिए खेल संरक्षणको सन्देश

श्रेणी : BANNER

2 hours
Pradeep Sah
2.9kViews
1465 Shares

वीरगंज, ४ फागुन । महाशिवरात्रि पर्वको अवसर पारेर वीरगंज महानगरपालिका–३० लालपर्सामा आयोजना गरिएको विराट कुस्ती प्रतियोगिताको औपचारिक उद्घाटन सोमबार सम्पन्न भएको छ। प्रतियोगिताको उद्घाटन नेपाल कम्युनिष्ट पार्टी (एमाले) पर्सा क्षेत्र नम्बर–१ का उम्मेदवार तथा पूर्वमन्त्री प्रदीप यादव ले गरेका हुन्।
दुई दिनसम्म सञ्चालन हुने मेलाको दोस्रो दिन विशेष समारोहका बीच कुस्ती दंगल सुरु गरिएको हो। कार्यक्रममा मधेश प्रदेशका विभिन्न जिल्लाबाट आएका अनुभवी तथा युवा कुस्ती खेलाडीहरूको सहभागिता रहेको थियो। परम्परागत खेलप्रति स्थानीय बासिन्दाको आकर्षण देखिँदा मेलास्थल दर्शकले भरिभराउ बनेको थियो।
उद्घाटन कार्यक्रममा प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै उम्मेदवार यादवले खेलकुद युवाहरूको शारीरिक तन्दुरुस्ती मात्र नभई अनुशासन र आत्मविश्वास विकासको आधार भएको उल्लेख गरे। उनले मधेशको मौलिक पहिचान बोकेका कुस्ती जस्ता खेललाई संरक्षण र प्रवर्द्धन गर्न स्थानीय तहदेखि राज्यस्तरसम्म योजनाबद्ध पहल आवश्यक रहेको बताए।
उनका अनुसार नियमित प्रतियोगिता, उपयुक्त पूर्वाधार र खेलाडी प्रोत्साहन कार्यक्रममार्फत यस्ता खेललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म चिनाउन सकिने सम्भावना छ। उद्घाटनपश्चात यादवले खेलाडीहरूसँग प्रत्यक्ष भेटघाट गर्दै हात मिलाएर हौसला प्रदान गरेका थिए।
कार्यक्रममा वीरगंज–३० का वडा अध्यक्ष मनोज यादव, पूर्व वडा अध्यक्ष अमानत अन्सारी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी तथा खेलप्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। आयोजक समितिले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *