श्रेणी : प्रदेश
काठमाडौं,११ पुस । सहकारी ठगीकाे आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई बयानका लागि आज (बिहीबार) जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ ।
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको आरोप लागेका उनको बयान आज लिन लागिएको अदालत स्रोतले जनाएको छ ।
यसअघि आइतबार पूर्वउपप्रधान एवं गृहमन्त्री लामिछानेसहित ४४ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर भएको थियो ।
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेकाको अदालतमा बयान चलिरहेको छ । यसअघि पूर्वडीआईजी छविलाल जोशीको बयान सकिएको थियो । मंगलबारदेखि लीला पछाईंको बयान जारी छ । उनको सकेर लामिछानेको बयान सुरु गर्ने अदालतको तयारी छ ।
लामिछानेको बयान यसअघि बुधबार नै लिने तयारी थियो । तर अन्यको नसकिएपछि उनको पछि सरेको हो ।
लामिछानेको मुद्दा जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा छ । बयान सकिएपछि लामिछानेको थुनछेक बहस हुनेछ ।
लामिछानेमाथि सम्पत्ति शुद्धीकरणमा २७ करोड ८९ लाख ४४ हजार सात सय रुपैयाँ बिगो दाबीसहित मुद्दा दर्ता गरिएको छ । यस्तै ७४ करोड ३४ लाख ७१ हजार रुपैयाँ बढी बिगो दाबी गरी पूर्वडीआईजी छविलाल जोशीविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा दायर गरिएको हो । प्रतिवादी रामबहादुर खनालसँग १४ करोड ३० लाख ९१ हजार नौ सय ११ र पछाईंसँग २४ करोड ६७ लाख सात हजार २४ रुपैयाँ बिगो दाबी गरिएको छ ।
सहकारी ठगीतर्फ लामिछानेलाई तीन करोड ३७ लाख ६५ हजार र जोशीविरुद्ध पाँच करोड २६ लाख ६५ हजार र दीपेश पुनसँग दुई करोड १४ लाख आठ हजार आठ सय ४३ रुपैयाँ बिगो माग गरिएको छ । सहकारी ठगीका आरोपित अन्य व्यक्तिलाई पनि कसुरअनुसारको बिगो र सजायको मागसहित मुद्दा दर्ता गरिएको सरकारी वकिलको कार्यालय कास्कीले जनाएको छ ।
सहकारी ठगीको मुद्दा दर्ता भएसँगै लामिछानेको सांसद पद निलम्बित भएको छ ।
सहकारीको बचत रकम अपचलन गरेको आरोपमा सभापति लामिछाने गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए । उनीमाथि कास्कीसहित अन्य जिल्लामासमेत सहकारी ठगीको आरोपमा अनुसन्धान भइरहेको छ । सूर्यदर्शन सहकारी ठगीका मुख्य योजनाकार जीबी राईलगायत अन्य आरोपी भने अझै पनि फरार छन् ।
प्रतिक्रिया