वीरगन्ज :

लागु औषध निगरानी कडाइपछि सीमावर्ती भारतीय बजारमा सक्रियता

श्रेणी : अन्तर्राष्ट्रिय

7 days
Pradeep Sah
1.8kViews
1415 Shares

रौतहट,१६ माघ । नेपाल-भारत सीमावर्ती क्षेत्रमा लागु औषध कारोबार र दुर्व्यसनका घटनाहरू बढ्दै गएका छन्। रौतहट प्रहरीले पछिल्लो समय लागु औषध नियन्त्रणमा कडाइ गरेपछि दुर्व्यसनी र कारोबारी भारतीय सीमावर्ती बजार बैरगनिया, चमनपुर, बङ्कुल र घोडासहानतर्फ आकर्षित हुन थालेका छन्।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार चालु आर्थिक वर्षमा मात्र लागु औषध कारोबारी र दुर्व्यसनीका १८ पुरुष र १ महिला गरी १९ जना पक्राउ परेका छन्। पक्राउ परेका १६ जनामाथि मुद्दा दायर गरिएको छ।

अनुसन्धानमा अधिकांश अभियुक्तहरूले भारतीय बजारबाट औषधिजन्य लागु पदार्थ खरिद गरेको स्वीकारेका छन्। प्रहरीले हालसम्म ‘नाट्राभेट ट्याब्लेट’ ८२४ गोटा, ‘कोरेक्स’ १२ बोतल, ‘फेनारगन’ ४८ पिस, ‘बुप्रोनाइफाइन’ ८० पिस, ‘डाइजिल्याब’ १७६ पिस, ‘नुर्फिन’ ९६ पिस, ‘प्रोमिथाजिन’ १३० पिस, अज्ञात इन्जेक्सन ४ भाइलसहित २७.९ किलो गाँजा र १ ग्राम हिरोइन बरामद गरेको छ।

प्रहरीका अनुसार गौर, गरुडा, चन्द्रनिगाहपुरलगायतका क्षेत्रका युवा बिहान स्कुटर, मोटरसाइकल वा टेम्पोमा भारतीय बजार पुगेर लागु औषध ल्याउने गरेका छन्। सीमाक्षेत्रमा प्रतिबन्धित औषधिहरू तीन गुणासम्म महँगोमा बिक्री हुने गरेको छ।

जिल्ला प्रहरी प्रमुख एसपी दिलिप घिमिरेका अनुसार खुला सीमाका कारण भारतीय बजारतर्फ सहज रूपमा आउ-जाउ हुने र त्यहाँ औषधिजन्य लागु पदार्थ खरिदमा कडाइ नभएकाले यो समस्या बढेको हो।

हाल लागु औषध नियन्त्रणका लागि विशेष कार्ययोजना लागू गरी सीमाक्षेत्रका छोटी भन्सार, सार्वजनिक स्थल, पार्क, पिकनिक स्थल, खेलमैदान, मठ-मन्दिर तथा मुख्य बजार क्षेत्रमा निगरानी बढाइएको छ। जसका कारण लागु औषधको कारोबार र सेवनमा कमी आएको प्रहरीको दाबी छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *