
श्रेणी : अपराध
रौतहट,०२ साउन । रौतहटमा लागुऔषध ओसारपसारमा संलग्न दुई जना पक्राउ परेका छन्। गौर नगरपालिका–१ स्थित शुभम होटल अगाडिबाट पक्राउ गरिएका उनीहरूलाई बिहीबार जिल्ला प्रहरीले सार्वजनिक गरेको हो।
पक्राउ पर्नेमा राजदेवी नगरपालिका–८ लक्ष्मीपुरका २३ वर्षीय नितेशकुमार पण्डित र ३२ वर्षीय पिन्टुकुमार यादव रहेका छन्। उनीहरू भारतीय नम्बर प्लेट (BR 05 U 5860) भएको ग्ल्यामर मोटरसाइकलमा सवार थिए।
लागुऔषध नियन्त्रण ब्युरो शाखा वीरगन्ज र जिल्ला प्रहरी कार्यालय रौतहटको संयुक्त टोलीले विशेष सूचनाको आधारमा उनीहरूलाई नियन्त्रणमा लिएको हो। प्रहरीले शंका लागेर जाँच गर्दा कालो प्लास्टिकको झोलाभित्र लुकाइएका विभिन्न प्रतिबन्धित औषधि फेला पारेको हो।
जिल्ला प्रहरी कार्यालयका डिएसपी दीपककुमार रायका अनुसार उनीहरूका साथबाट नाइट्रोभेट, नेटजेकेयर, डाइजोपाम, फेनारागनलगायतका इन्जेक्सन बरामद गरिएको छ। यी सबै औषधिहरू नेपालमा प्रतिबन्धित छन् र भारतबाट ल्याइएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ। पछिल्लो समय सिमावर्ती क्षेत्रहरूमा लागुऔषधको ओसारपसारमा वृद्धि देखिएको प्रहरीको भनाइ छ।


प्रतिक्रिया