वीरगन्ज :

लहानमा अटो रिक्साको जथाभावी सञ्चालनले ट्राफिक व्यवस्थापन जटिल

श्रेणी : मधेस

10 months
Pradeep Sah
2.2kViews
1506 Shares

जनकपुर,१५ पुस । सिरहाको मुख्य बजार लहानमा अटो रिक्साको बेतहाशा वृद्धि र अव्यवस्थित सञ्चालनका कारण ट्राफिक व्यवस्थापन जटिल बनेको छ। साँघुरो सडकमा अत्यधिक रिक्साको चापले सवारी दुर्घटनाको जोखिम समेत बढाएको छ।

जिल्ला ट्राफिक कार्यालय लहानका प्रमुख प्रहरी निरीक्षक पोषणराज थपलियाले अटो रिक्साका चालकहरूमा ट्राफिक नियमप्रति सचेतनाको कमी र भित्री सडकमा चलाउनुपर्ने रिक्साहरू बजार क्षेत्रमा केन्द्रित हुँदा समस्या झनै पेचिलो भएको बताए। “ट्राफिक व्यवस्थापनमा समस्या हुनुको मुख्य कारण अटो चालकहरूको असावधानी र व्यवस्थापनको अभाव हो। यसको नियन्त्रणका लागि स्थानीय तह र यातायात कार्यालयले चासो दिन जरुरी छ,” थपलियाले भने।

प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले अटो रिक्सालाई कानुनी दायरामा ल्याउन र नियमन गर्न स्थानीय प्रशासन र सरोकारवालाहरूले तत्काल कदम चाल्नुपर्ने बताए। “सडक क्षमताभन्दा दोब्बर सङ्ख्यामा रिक्साहरू सञ्चालन हुँदा दुर्घटनाको जोखिम भयावह बनेको छ। अब सरोकारवाला संस्थाहरू सक्रिय नहुने हो भने स्थिति झन् गम्भीर बन्नेछ,” दाहालको भनाइ छ।

ट्रेड युनियन महासङ्घ सिरहाका अध्यक्ष सञ्जीव उप्रेतीका अनुसार, लहानमा मात्रै करिब तीन हजार अटो रिक्साहरू सञ्चालनमा छन्, जुन सडकको क्षमताभन्दा निकै बढी हो। “रिक्साको जथाभावी सञ्चालनका कारण ट्राफिक व्यवस्थापनमा समस्या र दुर्घटनाको जोखिम बढ्दै गएको छ,” उप्रेतीले भने।

इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायब उपरीक्षक विष्णुप्रसाद सोतीले ट्राफिक व्यवस्थापनका लागि स्पष्ट नीति र लाइसेन्स प्रणालीको अभाव मुख्य समस्या भएको बताए। “यातायात कार्यालयले स्पष्ट निर्देशिका बनाएर अटो रिक्साको दर्ता र चालकलाई लाइसेन्स उपलब्ध गराउनु आवश्यक छ,” सोतीले भने।

लहान नगरपालिकाका प्रमुख महेशप्रसाद चौधरीले अटो रिक्साको व्यवस्थापनका लागि कार्यविधि तयार पार्ने प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिए। “कार्यविधि लागू भएसँगै रिक्साको व्यवस्थापन सहज हुनेछ,” नगरप्रमुख चौधरीले बताए।

यसरी, अटो रिक्साको सङ्ख्यात्मक वृद्धि र जथाभावी सञ्चालनले सिर्जिएको समस्यालाई सम्बोधन गर्न नीति र व्यवस्थापनको तत्काल आवश्यकता रहेको सरोकारवालाहरूको धारणा छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *