वीरगन्ज :

लक्ष्यभन्दा बढी मुद्दा फर्छ्यौट गर्ने न्यायाधीश सम्मानित

श्रेणी : मधेस

3 weeks
Pradeep Sah
2.3kViews
1778 Shares

बीरगन्ज,२६ साउन । पर्सा जिल्ला अदालतले गत आर्थिक वर्षमा सबैभन्दा बढी मुद्दा फैसला गर्ने न्यायाधीश माधवप्रसाद घिमिरेलाई सम्मान गरेको छ। आइतबार आयोजित समारोहमा अदालतका मुख्य न्यायाधीश दीपक खनालले उनलाई दोसल्ला ओढाएर सम्मान गरे।

न्यायाधीश घिमिरेले गत वर्ष ९८३ मुद्दा फैसला गर्दै तोकिएको लक्ष्य ८४३ भन्दा धेरै कार्यसम्पादन गरेका थिए। पर्सा जिल्ला अदालतमा ११ न्यायाधीश छन् र प्रत्येकलाई ८४३ मुद्दा फैसला गर्ने लक्ष्य दिइएको थियो।

अदालतका अन्य न्यायाधीशहरूले पनि उल्लेखनीय कार्य गरेका छन्। मुख्य न्यायाधीश खनालले ९३९, नन्दकिशोरप्रसाद यादवले ७६२, प्रमेश खरेलले ६०५, उत्तम सिलवालले ६२६, आनन्दप्रसाद श्रेष्ठले ६३०, मोहन सुवेदीले ५८४, उपेन्द्र केशर खनालले ६५७, मुकुन्द आचार्यले ५३८, कमलकान्त जोशीले ५६६ र रुद्रप्रसाद सुवेदीले ५०१ मुद्दा फैसला गरेका छन्।

गत आर्थिक वर्षमा अदालतमा जम्मा १२ हजार ६३५ मुद्दा थिए, जस मध्ये ५७.३३ प्रतिशत अर्थात् ७,२४४ मुद्दा फर्छ्यौट गरिएको छ। यसअघिको लक्ष्य ६६ प्रतिशत थियो। फर्छ्यौट भएका मुद्दामा सम्बन्ध विच्छेद (२६४), घरेलु हिंसा (५३), जरबजस्ती करणी (५६), विद्युत कारोबार ऐन (९), मानव बेचबिखन (६), महिला (५६०), ज्येष्ठ नागरिक (८४) र बालबालिका (३८४) समावेश छन्।

न्यायाधीश नन्दकिशोरप्रसाद यादवले विगत पाँच वर्षमा मुद्दा फर्छ्यौट दरमा निरन्तर सुधार आएको बताए। उनले भने, “२०७७/७८ मा ४०.६ प्रतिशतदेखि शुरु भएको यो दर अहिले ५७.३३ प्रतिशत पुगेको छ, जुन अदालतको योजनाबद्ध कामको परिणाम हो।”

अदालतले गत आर्थिक वर्षमा कुल ३ हजार ५ सय ५८ वर्ष ११ महिना ६ दिन कैद सजायमा फैसला गरेको छ भने १ अर्ब ३१ करोड ७९ लाख ३४ हजार रुपैयाँ जरिवाना पनि असुल गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *