
श्रेणी : मधेस
बीरगन्ज,०७ जेठ । जिल्ला प्रशासन कार्यालय रौतहटले सेवाग्राहीलाई लक्षित गर्दै कार्यालयको सेवा प्रवाह प्रणालीमा सुधारको पहलस्वरूप ‘टाइमकार्ड टोकन प्रणाली’ लागू गरेको छ। प्रमुख जिल्ला अधिकारी (सीडीओ) विनोद कुमार खडकाको अगुवाइमा सुरु गरिएको यस प्रणालीले अब सेवाग्राहीले पालोको प्रतीक्षा गर्दा झेल्नुपर्ने असहजता हटाउने लक्ष्य राखेको छ।
यस प्रणालीले नागरिकता, राहदानी, नागरिकताको प्रतिलिपि लगायतका नियमित सेवा तोकिएको समयमा, तोकिएको झ्यालबाट उपलब्ध गराउने व्यवस्था गरेको छ। अब सेवाग्राहीले लामो लाइनमा उभिनु नपर्ने, सेवा प्रक्रियामा अनुशासन कायम रहने, र कार्यालयमा हुने भीडभाड कम हुने अपेक्षा गरिएको छ।
सीडीओ खडकाले भने, “पहिला झ्यालमा धक्कामुक्की, पालो मिच्ने, र बिचौलियाको पहुँचजस्ता समस्याले सेवा प्रभावमा असर पारिरहेको थियो। अब टोकन प्रणालीले पारदर्शिता र समयअनुसारको सेवा सुनिश्चित गर्नेछ।”
कटहरिया नगरपालिका–४ का वडाध्यक्ष चन्दन कुशवाहा भन्छन्, “टोकन प्रणाली आएपछि सेवाग्राहीको समय, पैसा र श्रमको बचत भएको छ। बिचौलियाको प्रभाव पनि घटेको देखिन्छ। पहिले केही कर्मचारीको सहमतिमा अवैध रकम असुली हुने गरेको थियो, जुन अब नियन्त्रणमा आउनेछ।”
जिल्ला प्रशासन कार्यालयमा दैनिक २५० देखि ३०० सेवाग्राही पुग्ने गरेको सहायक सीडीओ किरणनिधि तिवारीले जानकारी दिए। प्रमुख जिल्ला अधिकारी खडकाले पदभार सम्हालेपछि कार्यालय व्यवस्थापन सुधारलाई प्राथमिकतामा राख्दै आएका छन्। टोकन प्रणाली लागू गर्नु उनको सुधार योजनाको एक हिस्सा हो, जसलाई स्थानीयवासीले सेवामुखी र जनमैत्री कदमका रूपमा लिएका छन्।

प्रतिक्रिया