
श्रेणी : अपराध
रौतहट,०९ साउन । रौतहटका पत्रकार राजकुमार यादवमाथि समाचार संकलनको क्रममा भएको कुटपिटप्रति विभिन्न पत्रकार संगठनहरूले तीव्र विरोध जनाएका छन्। रौतहट न्यूजमा कार्यरत पत्रकार यादवमाथि पूर्वमन्त्री प्रभु साहका छोरा विवेक साहसहित रञ्जित साह, अञ्जित साह र अञ्जित साहका छोराले आक्रमण गरेको नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेश समितिले जनाएको छ।
समितिका सचिव सुरज पौडेलद्वारा जारी विज्ञप्तिमा घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै दोषीहरूलाई तत्काल कानुनी दायरामा ल्याई कडा कारबाही गर्न माग गरिएको छ।
विज्ञप्तिमा भनिएको छ, “जनतालाई सत्य सूचना दिन खटिएका पत्रकारमाथि कुटपिट हुनु निन्दनीय मात्र होइन, स्वतन्त्र प्रेसमाथिको सीधा आक्रमण हो। यसले लोकतन्त्रको मूल्य र मान्यतालाई नै चुनौती दिएको छ।”
महासंघले पछिल्ला दिनमा पत्रकारहरूमाथि दोहोरिंदो रूपमा आक्रोश र आक्रमण बढ्दै गएकोप्रति पनि गहिरो चिन्ता व्यक्त गरेको छ।
यस्तै, श्रमजीवी पत्रकार संघ रौतहट शाखाले पनि विज्ञप्ति जारी गर्दै घटनाको भर्त्सना गर्दै दोषीलाई कानुनी दायरामा ल्याउन जोडदार माग गरेको छ।
घाइते पत्रकार यादवको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै एसोसिएट प्रदेश समितिले उनको पूर्ण उपचार सुनिश्चित गर्न सम्बन्धित निकायहरूलाई आग्रह गरेको छ। समितिले यादवको पक्षमा संस्थागत ऐक्यबद्धता जनाउँदै पीडित पत्रकारलाई एक्लो नपारिने स्पष्ट पारेको छ।


प्रतिक्रिया