वीरगन्ज :

रौतहटमा नवविवाहिता मृत फेला, पति र सासु फरार

श्रेणी : BANNER

2 days
Pradeep Sah
2.8kViews
1527 Shares

रौतहट,२२ जेठ । रौतहटको कटहरिया नगरपालिका–१, भासेढवा गाउँमा एक २२ वर्षीया नवविवाहिता आफ्नै सुत्ने कोठामा मृत फेला परेकी छन्। मृत्यु शंकास्पद रहेको भन्दै प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ।

मृतक अल्का यादव मंगलबार बेलुका आफ्नै बेडमा मृत अवस्थामा फेला परेकी हुन्। उनका पति अनकेश यादव र सासु शान्तिदेवी यादव भने घटना लगत्तैदेखि फरार छन्। घटनास्थलमा पुगेको प्रहरी टोलीका अनुसार अल्कालाई उत्तानो अवस्थामा बेडमै मृत फेला पारिएको थियो भने उनको शरीरमा उल्टी देखिएको छ।

इलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख डीएसपी राजन कार्कीका अनुसार घटनापछि श्रीमान् र सासु सम्पर्कविहीन बनेका छन्। “हामीले मृतकका ससुरा रामपुकार यादवलाई सोधपुछका लागि नियन्त्रणमा लिएका छौं,” डीएसपी कार्कीले बताए।

अल्काको शवलाई पोस्टमार्टमका लागि गौरस्थित प्रादेशिक अस्पताल पठाइएको छ। प्रारम्भिक विवरणले मृत्यु शंकास्पद देखिए पनि अन्तिम निष्कर्ष रिपोर्टपछि मात्र टुंगो लाग्ने प्रहरीको भनाइ छ। फरार अनकेश र उनकी आमा शान्तिदेवीको खोजी तीव्र पारिएको जानकारी प्रहरीले दिएको छ।

यसअघि पनि कटहरिया नगरपालिका–३ का अरमान राय भाटविरुद्ध आफ्नी श्रीमतीलाई आत्महत्या गर्न दुरुत्साहन दिएको भन्दै उजुरी परेको थियो। तर उनी अहिलेसम्म पक्राउ परेका छैनन्।

रौतहट जिल्लामा पछिल्ला दिनहरूमा वैवाहिक सम्बन्धमा हिंसाजन्य घटनाहरूको संख्या बढ्दै गएको देखिँदा सुरक्षा संयन्त्र र महिला अधिकारप्रति गम्भीर प्रश्न उठ्न थालेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *