वीरगन्ज :

रौतहटमा ट्राफिक सप्ताह: चालकहरूको निःशुल्क स्वास्थ्य परीक्षण

श्रेणी : मधेस

3 weeks
Pradeep Sah
1.6kViews
1084 Shares

रौतहट,२६ जेठ । रौतहटमा जारी ट्राफिक जनचेतना सप्ताहले ट्राफिक नियमको महत्त्व मात्र होइन, चालकहरूको स्वास्थ्य सुरक्षाप्रति समेत सकारात्मक सन्देश दिएको छ। सप्ताहको पाँचौं दिन सोमबार, जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटको आयोजनामा सवारी चालकहरूको निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न गरिएको छ।

चन्द्रपुर अस्पताल प्रालिको सहकार्यमा भएको कार्यक्रममा वरिष्ठ चिकित्सक डा. सुभाष चौधरीको नेतृत्वमा चिकित्सक टोलीले करिब ७० जना चालकहरूको रक्तचाप, ब्लड सुगर, आँखाको जाँच तथा सामान्य स्वास्थ्य परीक्षण गरे। साथै, आवश्यक औषधिहरू निःशुल्क वितरण गरिएको थियो।

डा. चौधरीले भने, “गाडी चलाउने चालकको शरीर र मन दुवै स्वस्थ हुनु जरुरी छ। जस्तै देश चलाउने प्रधानमन्त्री पनि सन्तुलित र दूरदर्शी हुनुपर्छ। दुर्घटना न्यूनीकरणको सुरुवात, स्वास्थ्य र सचेतनाबाट हुन्छ।”

स्वास्थ्य परीक्षण कार्यक्रम चन्द्रनिगाहपुरस्थित ट्राफिक प्रहरी कार्यालय अगाडिको सडक किनारमा गरिएको थियो। कार्यक्रममा ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डिएसपी राजकुमार राई, ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर लोकेन्द्र अधिकारी, विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको समेत उपस्थिति थियो।

यसअघि चौथो दिन आइतबार, चन्द्रपुरस्थित हिमालयन होटल अगाडि सडक नाटक प्रस्तुत गरिएको थियो। ‘चन्द्रबिन्दु विकास नेपाल’ द्वारा प्रस्तुत नाटकले ट्राफिक नियमको उल्लंघन, सडक दुर्घटनाको कारण, र प्रहरीमाथिको दबावजस्ता संवेदनशील विषयलाई जीवन्त ढंगमा प्रस्तुत गर्‍यो।

तेस्रो दिन शनिबार, ट्राफिक प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त रूपमा रक्तदान कार्यक्रम आयोजना गर्दै मानव सेवा र सामाजिक जिम्मेवारीमा उदाहरणीय योगदान दिएका थिए। कुल १४ जना सुरक्षाकर्मीले रक्तदान गरेका थिए।

ट्राफिक सप्ताहको उद्घाटन गत बिहीबार जिल्ला सदरमुकाम गौरबाट गरिएको थियो। उद्घाटन कार्यक्रममा सुरक्षा निकायका प्रमुख, जनप्रतिनिधि, शिक्षक, विद्यार्थी, अभिभावक, नागरिक समाज लगायत सयौंको सहभागिता थियो। नाराबाजीसहितको र्‍याली निकालेर ट्राफिक नियमको पालना गर्न जनमानसमा सन्देश प्रवाह गरिएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *