
श्रेणी : अर्थ
रौतहट,२९ चैत । ट्राफिक नियमको उल्लंघन गर्ने सवारी चालकहरूविरुद्ध कडाइ गरेसँगै रौतहटमा यस आर्थिक वर्षको नौ महिनामा मात्रै ११ हजार १२५ चालकलाई कारबाही गरिएको छ। जिल्ला ट्राफिक कार्यालय रौतहटका अनुसार ती चालकहरूबाट करिब एक करोड तीन लाख ९२ हजार रुपैयाँ राजस्व संकलन गरिएको छ।
कार्यालयका प्रमुख प्रहरी निरीक्षक लोकेन्द्र अधिकारीका अनुसार कारबाहीमा पर्नेहरूमा मदिरा सेवन गरेर सवारी चलाउने, ओभरलोड गर्ने, हेल्मेट वा सिटबेल्ट नलगाउने, लाइसेन्स वा सवारी कागजात नबोक्ने, रुट परमिट नलिने लगायतका दोषी चालकहरू रहेका छन्।
कारबाहीको दायरामा बस, मालबाहक सवारी, मोटरसाइकल, अटो लगायतका साना–ठूला सबै प्रकारका सवारी परेका छन्। ट्राफिक कार्यालयले केवल कारबाहीमा सीमित नरही दुर्घटना न्यूनीकरण र सवारी सचेतनाका कार्यक्रमहरू पनि सञ्चालन गर्दै आएको बताइएको छ।
“हामीले विद्यालय, बजार, सार्वजनिक स्थलहरूमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएका छौं,” प्रहरी निरीक्षक अधिकारीले बताए, “लक्ष्य दुर्घटना न्यूनीकरण र ट्राफिक नियमको सम्मान बढाउनु हो।”
कार्यालयको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको चैत मसान्तसम्म रौतहटमा ५३९ वटा सवारी दुर्घटना भएका छन्। तीमध्ये ३६ जनाको मृत्यु भएको छ भने ८९० जना घाइते भएका छन्।
उता, सीमावर्ती जिल्ला भएकाले रौतहटमा भारतीय नम्बर प्लेट भएका सवारीहरूको चाप बढी देखिएको छ। भारतीय राज्य बिहारसँगको सीधा सम्पर्क भएकाले सीमावर्ती तथा ग्रामिण क्षेत्रमा नेपाली नागरिकहरू बिना हेल्मेट, बिना कागजात भारतीय सवारी प्रयोग गर्ने प्रवृत्ति अझै पनि कायम रहेको ट्राफिकले जनाएको छ।
प्रशासनले ट्राफिक अनुशासन कायम राख्न थप निगरानी र जनचेतनामा जोड दिनुपर्ने आवश्यकता देखिएको छ।

प्रतिक्रिया