वीरगन्ज :

रौतहटमा ‘टेन्डर सेटिङ’ काण्ड : पत्रकार र कर्मचारीसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

श्रेणी : अपराध

3 weeks
Pradeep Sah
1.7kViews
1378 Shares

रौतहट,२६ जेठ । रौतहटको फतुवा विजयपुर नगरपालिकामा विज्ञापन नै नछापी झुटा कागजातका आधारमा रकम भुक्तानी गरिएको खुलासा भएपछि पत्रकार र कर्मचारीसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा दायर गरेको आरोपपत्रमा जनसवाल राष्ट्रिय दैनिकका सम्पादक रामजी बगाले, नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शम्भुकुमार यादव, सहलेखापाल नवीनकुमार यादव, तराई पोष्टका प्रकाशक रुपेन्द्र पटेल र प्रतिनिधि ओमप्रकाश यादवलाई प्रतिवादी बनाइएको हो।

अनुसन्धानका अनुसार, फतुवा विजयपुर नगरपालिका–४ मा कृषकहरूलाई वितरण गरिने स्प्रे ट्याङ्की खरिदका लागि बोलपत्र आह्वान गरिएको देखाएर झुठा विवरण पेश गरिएको थियो। तर वास्तवमा उक्त सूचना कुनै पनि पत्रिकामा प्रकाशित गरिएको थिएन।

सूचना प्रकाशित भएको भन्दै जनसवाल दैनिकलाई १ लाख ७२ हजार ८२५ रुपैयाँ र तराई पोष्टलाई ३९ हजार ४०० रुपैयाँ गरी कुल २ लाख १२ हजार २२५ रुपैयाँ भुक्तानी गरिएको थियो। अख्तियारका अनुसार यसमा कर्मचारी र पत्रकारको मिलेमतो रहेको छ।

अख्तियारले मुद्दा दायर गर्दै चेक र सरकारी कागजातहरूमा नाम केरमेट गरिएको, विवरण फेरबदल गरिएको र प्रक्रियाविना भुक्तानी गरिएको तथ्य फेला परेको उल्लेख गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *