श्रेणी : मधेस
रौतहट,२२ पुस । रौतहट जिल्लाका चन्द्रपुर नगरपालिका र फतुवा विजयपुर नगरपालिकामा जङ्गली हात्तीको बथानले १२ भन्दा बढी घर भत्काउँदा स्थानीय बासिन्दा त्रसित बनेका छन्। हात्तीले घरहरू मात्र होइन, गोठ, धानको भकारी, र खेतीबालीमा समेत ठूलो क्षति पु¥याएको छ।
चन्द्रपुर नगरपालिका वडा नं. ३ गैडाटारमा ७ घर र वडा नं. २ जुडिबेलामा १ घर हात्तीले भत्काएको छ। गैडाटारका स्थानीय नवीन तामाङका अनुसार सन्तबहादुर रुम्बा, मीना राई, बली माया लोप्चन लगायतका घरहरूमा हात्तीले क्षति पु¥याएको हो।
हात्तीले जुडिबेलाको कालापानी सामुदायिक वन क्षेत्रमा रहेको पार्क र पानी घट्टमा पनि क्षति पु¥याएको छ। हात्तीको आक्रमणले यहाँका बासिन्दा रातभर निन्द्रा नपाई सतर्कता अपनाउँदै बस्न बाध्य भएका छन्।
त्यस्तै,फतुवा विजयपुर नगरपालिका वडा नं. ११ वुटवा बस्तीमा हात्तीले ४ घर भत्काएको छ। स्थानीय विजय चौधरीका अनुसार उदय चौधरी, मिलन मगर, हरिशरण मैनाली लगायतका घरमा ठूलो क्षति भएको छ। हात्तीले विशेषगरी केरा खेतीमा व्यापक क्षति पु¥याएको किसानहरूले गुनासो गरेका छन्।
जङ्गली हात्तीको बथान ७–८ समूहमा सामुदायिक वन क्षेत्र वरपर देखा पर्ने गरेको छ। हात्ती बस्ती नजिकै राति पसेपछि स्थानीयहरू रातभर जाग्राम बस्न बाध्य छन्। डिभिजन वन कार्यालय रौतहटले जङ्गली हात्ती हिँड्ने सम्भावित बाटाहरूमा सावधानी अपनाउन र साँझबिहान यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
डिभिजन वन कार्यालयले हात्तीको आक्रमणबाट जोगिन सामुदायिक सतर्कता बढाउन र सम्भावित जोखिम क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन सुझाव दिएको छ। हात्तीको बथान वन क्षेत्रबाट नियन्त्रण गर्न दीर्घकालीन योजना बनाउनु आवश्यक रहेको स्थानीयले बताएका छन्।
प्रतिक्रिया