वीरगन्ज :

रौतहटमा गर्मीसँगै डेङ्गु संक्रमण तीव्र, दुई सातामै ५० बढी संक्रमित पुष्टि

श्रेणी : मधेस

2 weeks
Pradeep Sah
2.2kViews
1649 Shares

राैतहट,०६ जेठ । गर्मीको तीव्रता बढेसँगै रौतहट जिल्लामा डेङ्गु संक्रमणको जोखिम पनि उच्च हुँदै गएको छ। पछिल्ला दुई सातामा मात्रै ५० जनाभन्दा बढीमा डेङ्गु पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय रौतहटले जनाएको छ।

विशेषगरी गौर नगरपालिका क्षेत्रमा डेङ्गु संक्रमण फैलिने दर उच्च देखिएको छ। विभिन्न वडाहरूमा संक्रमण तीव्र भएपछि नगरपालिकाले सबै वडामा फगिङ स्प्रे अभियान सञ्चालन गर्ने तयारी गरेको जानकारी निमित्त प्रशासकीय अधिकृत सुभाषकुमार ठाकुरले दिएका छन्।

स्थानीय स्वास्थ्य संस्थाहरूमा डेङ्गुका बिरामीको चाप दिनप्रतिदिन बढ्दै गएको छ। तर औषधि र परीक्षण सामग्रीको अभाव देखिन थालेकाले उपचारमा समस्या सिर्जना भएको स्थानीय अस्पताल स्रोतले जनाएको छ।

जिल्ला जनस्वास्थ्य कार्यालय रौतहटका प्रमुख डा. रमेश यादवका अनुसार डेङ्गु नियन्त्रणका लागि समुदायमा जनचेतनामूलक अभियान सुरु गरिएको छ। उनले घर वरिपरि पानी जम्न नदिन, सरसफाइमा ध्यान दिन र लामखुट्टेको बढुवा रोक्न सबैलाई आग्रह गरेका छन्।

स्थानीय बासिन्दाहरूले संक्रमण अझै फैलिन सक्ने चिन्ता व्यक्त गर्दै स्वास्थ्य सेवा सुदृढ गर्न, तत्काल औषधि आपूर्ति तथा परीक्षण सुविधा विस्तार गर्न माग गरेका छन्।

सरकार र स्थानीय तहले समयमै नियन्त्रणका उपाय नअपनाए, रौतहटमा डेङ्गुले महामारीको रूप लिन सक्ने जनस्वास्थ्यकर्मीहरूको चेतावनी छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *