
श्रेणी : अपराध
रौतहट,२१ वैशाख । रौतहटको चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम लोकमार्गमा कारले मोटरसाइकललाई ठक्कर दिँदा बाबु र छोरीको मृत्यु भएको छ।
दुर्घटनामा गरुडा नगरपालिका–३ मलाहिटोल निवासी ६० वर्षीय बलिराम सहनी र उनकी ४० वर्षीया छोरी उर्मिला देवी सहनीको मृत्यु भएको हो।
ना ३ प ९५१२ नम्बरको मोटरसाइकलमा सवार सहनी र छोरीलाई आज बिहान सवा ६ बजे बा ६ च ३५२६ नम्बरको कारले चन्द्रपुरतर्फ आउँदै गर्दा ठक्कर दिएको थियो। ठक्करपछि दुवै गम्भीर घाइते भएका थिए।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी दीपक कुमार रायका अनुसार, बलिराम सहनीको दाहिने खुट्टा, ढाड र अण्डकोषमा गम्भीर चोट लागेपछि चन्द्रनिगाहपुरस्थित हाईवे ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो।
उर्मिला देवी सहनीको पनि दाहिने हात र ढाडमा चोट लागेको थियो। उनलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि बारा स्थित एलएस न्युरो अस्पताल लगिएको थियो। तर, बिहान ९ बजे उपचारकै क्रममा उनको पनि मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा संलग्न कार र चालक हेटौँडा उपमहानगरपालिका–१२ निवासी ४३ वर्षीय कुमार पोख्रेललाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया