
श्रेणी : मधेस
गौर, २० पुस । रौतहट जिल्ला प्रहरी कार्यालय रौतहटले अवैध घरेलु मदिरा तथा मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ बरामद गरी शनिबार नष्ट गरेको छ।
गौर नगरपालिका – ५ अन्तर्गतका विभिन्न स्थानमा लुकाईछिपाई सञ्चालन भइरहेका तीनवटा अवैध दारु भट्टीमा विशेष सूचनाको आधारमा प्रहरीले छापा मारेको थियो ।
छापामार अभियानमा ठूलो परिमाणमा घरेलु मदिरा, कच्चा पदार्थ, र अन्य सामग्री नियन्त्रणमा लिइएको थियो। बरामद सामग्रीहरू पत्रकारहरूको रोहबरमा नष्ट गरिएको प्रहरी निरीक्षक उमाशंकर गुप्ताले जानकारी दिए ।
प्रहरीले तयारी अवस्थामा रहेको ७ सय लिटर घरेलु मदिरा, २८ सय लिटर कच्चा पदार्थ,भाँडाकुँडा: ४ थान,डेक्ची: ८ थान,स्टिल बाल्टिन: ३ थान,ग्यास सिलिन्डर: ४ थान,ग्यास चुलो: ४ थान,प्लास्टिक ग्यालन: १४० थान,प्लास्टिक बाल्टिन: १० थान बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रहरी निरीक्षक गुप्ताका अनुसार भट्टी सञ्चालकहरू प्रहरीको छापा लगत्तै भागेको र उनीहरूको खोजी कार्य जारी रहेको छ ।
“बिना इजाजत मदिरा बिक्री–वितरण गर्ने वा मदिरा सेवन गरेर होहल्ला गर्ने जो–कोहीलाई कानूनी कारबाही हुनेछ,” प्रहरी निरीक्षक गुप्ताले बताए । उनलेमदिरा बिक्री, वितरण, र ओसारपसारमा समेत प्रहरीले कडाईका साथ चेकजाँच गरिरहेको जानकारी दिनुभयो। साथै, यस्तो अवैध कार्य रोक्न सबै पक्षको जिम्मेवारी रहेकोमा उहाँले जोड दिए ।


प्रतिक्रिया