
श्रेणी : BANNER
रौतहट,०२ जेठ । कटहरिया नगरपालिका–५ स्थित घरमा २१ वर्षीया नवविवाहिता सानिया प्रवीनको शंकास्पद मृत्यु प्रकरणमा माइती पक्षले हत्या भएको दाबी गर्दै गम्भीर अनुसन्धानको माग गरेका छन्।
गत आइतबार दिउँसो आफ्नै कोठामा साडीको पासोमा झुन्डिएको अवस्थामा फेला परेकी सानियालाई परिवारले आत्महत्या भने पनि माइती पक्षले घटनालाई हत्या भनी आत्महत्याको रुप दिइएको आरोप लगाएका छन्।
सानियाका बुबा, भारत बिहार राज्यको सुगौली नगरपालिका–११ निवासी महमद मोलाजीम रौशनका अनुसार, दाइजोको कारण छोरीलाई लगातार यातना दिइँदै आएको थियो। उनका अनुसार छोरी सानियालाई विवाहपछि एकपटक पनि माइत जान दिइएको थिएन, र उनका श्रीमान अरमान राय भाटसहित परिवारका सदस्यले शारीरिक यातना दिने गर्थे।
मृत्युको अघिल्लो दिन सानियाले बुबासँग फोनमा कुराकानी गर्दै आफू माइत जान चाहेको बताएकी थिइन्। उनका अनुसार ससुरा अहमद रायले समेत उनलाई लिन बोलाएका थिए। मृत्यु हुनु २ घण्टा अघि सानियाले आमासँग भिडियो कल गरेको जानकारी पनि छ।
सानियाका श्रीमान अरमान राय भाट हाल फरार छन् भने इलाका प्रहरी कार्यालय गरुडाका डीएसपी राजन कार्कीका अनुसार घटनाको अनुसन्धान अगाडि बढाइएको छ। प्रहरीले मृतक सानियाकी दिदी नगमा र उनका श्रीमान (अरमानका दाजु) लालबाबुको बयान पनि लिइसकेको छ।
सानियाका बुबाले विवाहमा दाइजो स्वरूप फर्निचर, फ्रिज, गहना लगायतका सामग्री दिइएको तर त्यसपछि पनि मोटरसाइकल, नगद १ लाख भारु र पछिल्लो समय एसी जडान गरिदिन माग गरिएको आरोप लगाए।
६ महिनाअघि विवाह भएको सानियाको मृत्युले गम्भीर शंका उत्पन्न गरेको माइती पक्षको भनाइ छ। उनीहरूले दोषीमाथि कडा कानुनी कारबाहीको माग गर्दै प्रहरीमा उजुरी दिइसकेका छन्।

प्रतिक्रिया