वीरगन्ज :

रौतहटका ६ स्थानीय तहको आर्थिक कारोबार ठप्प

श्रेणी : मधेस

3 weeks
Pradeep Sah
1.8kViews
1613 Shares

रौतहट,३१ वैशाख । रौतहटका छ वटा स्थानीय तहले अझै पनि विद्युतीय भुक्तानी प्रणालीलाई बेवास्ता गरेपछि ती निकायको आर्थिक कारोबार बन्द गरिएको छ। कोष तथा लेखा नियन्त्रक कार्यालय, रौतहटले ईशनाथ, गढीमाई, फतुवा विजयपुर, वृन्दावन, यमुनामाई गाउँपालिका र राजपुर नगरपालिकाको आर्थिक प्रणाली ‘सूत्र’ लक गर्दै सबै प्रकारका लेनदेन रोकेको हो।

कोष नियन्त्रक देवीप्रसाद गौतमका अनुसार, धेरै पटक चेतावनी दिए पनि ती पालिकाहरूले अझै पनि पुरानै चेक प्रणालीमा निर्भर रहँदै आएको र पारदर्शिता कायम गर्नुपर्ने सरकारी मापदण्ड पालना नगरेपछि यस्तो कडा निर्णय लिनु परेको हो।

महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक खर्च पारदर्शी बनाउन ‘सूत्र’ प्रणाली अर्थात् स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली लागू गर्न निर्देशन दिएपनि यी पालिकाहरू अझै चेकमार्फत भुक्तानी गर्न अडिग देखिए।

विशेषगरी उपभोक्ता समितिहरूलाई चेक हस्तान्तरण गर्ने बेलामा हुने “मोलमोलाइ प्रवृत्ति”लाई नियन्त्रण गर्न विद्युतीय प्रणालीले ठूलो मद्दत पुग्ने भन्दै, सरकारले यसलाई अनिवार्य गरिरहेको छ।

रौतहटको फतुवा विजयपुर नगरपालिकाले अहिलेसम्म एकरत्ति पनि कारोबार विद्युतीय प्रणालीबाट नगरेको कोष नियन्त्रक कार्यालयको दाबी छ। ईशनाथ नगरपालिकाको त हालत झनै खराब छ — चालु आर्थिक वर्षको १० महिनामा जम्मा ९६ हजार ५२० रुपैयाँ मात्र विद्युतीय प्रणालीमार्फत कारोबार भएको छ।

कोष नियन्त्रक गौतमले अबबाट प्रणाली नअपनाउने र चेक काट्ने जो–कोही स्थानीय तहको ‘सूत्र’ फेरि पनि लक गरिने चेतावनी दिएका छन्।

उनको भनाइमा, “पारदर्शिता, वित्तीय अनुशासन र जवाफदेहीता कायम गर्न विद्युतीय प्रणाली प्रयोग अनिवार्य छ। चेक काट्नुपर्ने विशेष अवस्था बाहेक कुनै पनि कारोबार चेकमार्फत गर्न पाइँदैन।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *