
श्रेणी : अपराध
रौतहट,३१ जेठ । रौतहटको ईशनाथ नगरपालिकामा भएको भनिएको भ्रष्टाचार प्रकरणमा विशेष अदालतबाट सफाइ पाएका तीन जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ।
शुक्रबार दर्ता गरिएको पुनरावेदन अनुसार अख्तियारले तत्कालीन प्रशासकीय अधिकृत नन्दकिशोर गुप्ता, इन्जिनियर सत्यपाल सौरभ र लक्ष्मीनियाँ आधारभूत विद्यालयका प्रधानाध्यापक मुहमद समिम अख्तरविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दा पुनः विचार गरियोस् भन्ने माग गरेको छ।
आयोगका अनुसार लक्ष्मीनियाँ विद्यालय भवन निर्माणका क्रममा कामभन्दा बढी मूल्याङ्कन गरिएको, नभएका कामहरूलाई पनि गरिएको देखाएर झुटो बिल बनाइएको, र सो क्रममा तीन लाख तीन हजार सातसय सत्तरी रुपैयाँ ६३ पैसाको गैरकानुनी भुक्तानी गरिएको थियो।
यही आरोपका आधारमा आयोगले विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको थियो। तर, २०८१ असार २ गते विशेष अदालतले अभियुक्तहरूलाई सफाइ दिएको थियो।
अख्तियारका प्रवक्ता राजेन्द्र पौडेलले विशेष अदालतको फैसलाले असन्तोष जनाउँदै सर्वोच्च अदालतमा पुनरावेदन गरिएको जानकारी दिए। उनका अनुसार आयोगले अब न्यायका लागि सर्वोच्च अदालतबाट उचित निरुपण हुने अपेक्षा राखेको छ।


प्रतिक्रिया