
श्रेणी : अपराध
रोल्पा,७ वैशाख । रोल्पामा एक निर्दोष कुकुरलाई क्रूरतापूर्वक झुन्ड्याएर मारिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि सार्वजनिक आक्रोश चुलिएको छ। घटनामा संलग्न तीनमध्ये दुई युवालाई प्रहरीले पक्राउ गरेको छ भने एकको खोजी भइरहेको छ।
भिडियोमा स्थानीय जातको कालो कुकुरलाई रुखमा पासो लगाई झुन्ड्याइँदै छटपटाएको देखिन्छ। छट्पटाएको त्यो कुकुरको पीडालाई रमाइलो मान्दै भिडियो बनाउने युवाहरूको हर्कतले जनमानसलाई स्तब्ध बनाएको छ। उक्त भिडियो टिकटक प्रयोगकर्ता सुन्दर परियारको एकाउन्टबाट सार्वजनिक भएको हो।
घटना रोल्पाको लुङग्री गाउँपालिका–७ हारजङ गाउँमा वैशाख ७ गते भएको हो। यस अमानवीय कृत्यमा संलग्न ११ वर्षीय जलजला पुन र १७ वर्षीय डम्बर पुनलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने २० वर्षीय सुन्दर परियार फरार छन्।
सुलिचौर इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक अरुण तामाङका अनुसार प्रारम्भिक अनुसन्धानमा कुकुरलाई झुन्ड्याएर मारेपछि खोलामा फालेको देखिएको छ। घटनाको थप अनुसन्धानका लागि प्रहरी टोली घटनास्थल पुग्ने तयारीमा छ।
मुलुकी अपराध संहिता २०७५ अनुसार जनावरमाथि क्रूरता प्रदर्शन गर्ने व्यक्तिलाई तीन महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने कानुनी प्रावधान छ। प्रहरीले कानुनी अनुसार दोषीहरूमाथि कारबाही प्रक्रिया अगाडि बढाउने जनाएको छ।

प्रतिक्रिया