वीरगन्ज :

रेणु दाहाललाई पराजित गरेकी सोबिता गौतम बनिन् कानुनमन्त्री

श्रेणी : प्रदेश

19 hours
Pradeep Sah
1.9kViews
1320 Shares

काठमाडौँ,१३ चैत । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको नयाँ मन्त्रिपरिषद्मा चितवन क्षेत्र नम्बर–३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सोबिता गौतमलाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ।
भरतपुर महानगरपालिकाको दुई कार्यकाल नेतृत्व गरिसकेकी नेकपा नेतृ रेणु दाहाललाई भारी मतान्तरले पराजित गर्दै संसदमा प्रवेश गरेकी गौतमले पहिलोपटक सरकारमा महत्वपूर्ण जिम्मेवारी पाएकी हुन्।

गत फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट चितवन–३ मा उम्मेदवारी दिएकी गौतम ५९ हजार २७७ मतसहित विजयी भएकी थिइन्। उनले आफ्ना निकटतम प्रतिस्पर्धी रेणु दाहाललाई ३८ हजार ६६२ मतको फराकिलो अन्तरले पराजित गरेकी थिइन्। दाहालले २० हजार ६१५ मत प्राप्त गरेकी थिइन्।

गौतमको सक्रिय राजनीतिक यात्रा २०७९ सालको निर्वाचनबाट सुरु भएको हो। त्यसबेला उनी काठमाडौं क्षेत्र नम्बर–२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी थिइन्। रास्वपाको केन्द्रीय सदस्यसमेत रहेकी गौतम सुशासन, पारदर्शिता र नागरिक अधिकारका मुद्दामा मुखर नेतृका रूपमा चिनिन्छिन्। सामान्य पारिवारिक पृष्ठभूमिबाट आएकी उनले व्यवस्थापन तथा सामाजिक विज्ञानमा उच्च शिक्षा हासिल गरेकी छन्।

कानुनमन्त्रीका रूपमा नियुक्त भएपछि उनले नेपालको कानुनी संरचनालाई आधुनिक, पारदर्शी र नागरिकमैत्री बनाउने अपेक्षा गरिएको छ। युवा तथा महिलाको राजनीतिक सहभागिता, सामाजिक न्याय र समावेशी विकास उनका प्राथमिकताका विषय रहने अनुमान गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *