
श्रेणी : BANNER
बुटवल । रुपन्देहीको क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभामा नेकपा एमालेको तर्फबाट २ जनाको उम्मेदवारी परेको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि मनोनयन दर्ता गर्ने समयमा एमालेकातर्फबाट २ जनाको उम्मेदवारी परेपछि आधिकारीक उम्मेदवार को भन्ने बहस सूरु भएको छ ।
शनिबार अपरान्ह पार्टी अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षरसहितको उम्मेदवारीको लागि पत्र बुझेका तिलोत्तमा नगरपालिकाका पूर्वनगर प्रमुख वासुदेव घिमिरेले आइतबार अपरान्ह निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएका थिए ।
घिमिरेले उम्मेदवारी दर्ता गराएको केही समयमै एमाले पोलिटब्युरो सदस्य खिमलाल भटराईले समेत केपी ओलीको पत्र सहित उम्मेदवारी दिन आएपछि निर्वाचन कार्यालय नै अन्यौलमा परेको छ । अहिले भटराईले शनिवार घिमिरेलाई दिएको पत्र फिर्ता गराउने निर्णय सहितको अध्यक्ष केपी ओलीको पत्र सहित निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गराएका छन् ।
भटराईले पछिल्लो पत्रले यस अघि घिमिरेलाई उम्मेदवारीका लागि दिईएको पत्र स्वतः निस्कृय भएको मानिने बताए । एमाले लुम्विनी प्रदेश कमिटीका प्रचार बिभाग प्रमुख डिआर घिमिरेले पछिल्लो पत्रले घिमिरेको उम्मेदवारी स्वतः रद्द भई भटराईको उम्मेदवारी कायम हुने सामान्य सिद्धान्त भएको बताए ।
उक्त निर्वाचन क्षेत्रका निर्वाचन अधिकृत चिन्तामणी शर्माले सोमबार दुवै उम्मेदवारको पार्टीले दिएको पत्र हेरेर कानूनी आधारमा विवादका सम्वन्धमा निर्णय गरिने बताए।




प्रतिक्रिया