
श्रेणी : अपराध
रुपन्देही,११ जेठ । रुपन्देही प्रहरीले पेस्तोलसहित दुई युवालाई पक्राउ गरेको छ। लुम्बिनी सांस्कृतिक नगरपालिका(११ जितवापुर गाउँमा चलिरहेको महायज्ञमा केटी जिस्काएको निहुँमा भएको झडपका क्रममा प्रहरीले पेस्तोलसहित दुई युवालाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार महायज्ञमा पुगेका युवाहरूको समूहले युवतीलाई जिस्काएपछि बढेको विवादका कारण झडप भएको थियो। स्थानीयका अनुसार महायज्ञमा सहभागी स्थानीय युवाहरू र वडा नं। ५ मोहसड गाउँबाट आएका युवाहरूबीच शनिबार राति विवादपछि झडप भएको थियो।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक प्रदीप क्षेत्रीका अनुसार महायज्ञ जेठ २ गतेदेखि सुरु भएको हो। पछिल्ला दिनहरूमा मोहसडबाट आएका केही युवाहरू रातिको समयमा विवाद गर्दै आउने गरेका थिए। घटनामा स्थानीय विक्रम सिंह घाइते भएका छन्। उनी लुम्बिनी प्रदेश सभा सदस्य कन्यैया बानियाँका स्वकीय सचिव हुन् ।
उनको हात र खुट्टामा चोट लागेको र हाल भैरहवास्थित भीम अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घटनापछि इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको टोलीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोहसडका २७ वर्षीय कमरउद्दिन मुसलमान र २६ वर्षीय रोशन अली फकिर छन्।
प्रहरी उपरीक्षक क्षेत्रीले पक्राउ परेकाहरूको साथबाट गोली नभएको एकथान कटुवा पेस्तोलसमेत बरामद गरिएको बताए । उनीहरूलाई इलाका प्रहरी कार्यालय लुम्बिनीको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया