श्रेणी : BANNER
पर्सा, १३ फागुन । पर्सा जिल्लाको पर्सागढी नगरपालिका वडा नं. ४ अन्तर्गत हरदासपुर थरुवान टोलमा आयोजित कार्यक्रममा विभिन्न राजनीतिक दल परित्याग गरी ठूलो संख्यामा युवा तथा महिलाहरू नेपाल कम्युनिष्ट पार्टी (एमाले) मा आबद्ध भएका छन्। एकै कार्यक्रममा सयौंको सहभागितासहित भएको प्रवेशले पर्सागढी क्षेत्रको राजनीतिक माहोलमा उल्लेख्य तरंग ल्याएको छ।
कार्यक्रममा जनता समाजवादी पार्टी, नेपाल परित्याग गरेका २५१ जना युवा तथा महिलासहित जनमत पार्टी र नेपाली कांग्रेस का स्थानीय तहका नेता–कार्यकर्ता पनि एमालेमा समाहित भएका हुन्।
बुधबार सम्पन्न कार्यक्रममा जिल्ला उप–सचिव नबिजान अंसारी, एमाले नेता प्रदुमन प्रसाद यादव, सफीदेवान, अशोक यादव, रमेश यादव, वीरगञ्ज महानगरपालिका–१० का नेता प्रमोद गुप्ता, अंगद गुप्ता तथा अजय गुप्तालगायत नेताहरूको पहलमा नवप्रवेशीहरूलाई अबिर–टिका र गम्छा ओढाएर स्वागत गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै एमालेका केन्द्रीय सदस्य विजय सरावगी तथा प्रदेश उपाध्यक्ष बिचारी यादवले पार्टीको नीति, विचार र विकासमुखी एजेण्डाबाट प्रभावित भई युवा तथा महिलाहरू ठूलो संख्यामा एमालेतर्फ आकर्षित भएको बताए। उनीहरूले मधेसको समग्र विकास, सुशासन र स्थायित्वका लागि एमालेको नेतृत्व अपरिहार्य रहेको धारणा राखे।
जनमत पार्टी पर्सागढी नगर सचिव सिकेन्द्र मण्डलको नेतृत्वमा सयभन्दा बढी नेता–कार्यकर्ता एमाले प्रवेश गरेका छन् भने नेपाली कांग्रेसका स्थानीय नेता श्याम चौधरी र अवधलाल साह कानुको नेतृत्वमा पनि दर्जनौं कार्यकर्ता पार्टीमा समाहित भएका छन्। प्रवेश गर्नेहरूमा जेन्जी नेता कमलेश कुमार साह, सरोज कुमार पटेल, मुन्ना देवी र राजकुमारी देवीलगायतको नाम उल्लेख छ।
नवप्रवेशीहरूले पर्सा निर्वाचन क्षेत्र नं. २ की उम्मेदवार रीमा कुमारी यादव लाई आगामी निर्वाचनमा विजयी गराउन संगठित रूपमा लाग्ने प्रतिबद्धता जनाएका छन्। “पर्सा–२ को समृद्धि र जनअधिकार सुनिश्चित गर्न रीमा यादवको विजय आवश्यक छ,” नवप्रवेशी नेताहरूले संयुक्त धारणा व्यक्त गरे।
एमाले नेताहरूले हालैका पार्टी प्रवेश कार्यक्रमले पर्सा क्षेत्रमा पार्टीको जनाधार थप मजबुत भएको दाबी गर्दै यसले आगामी निर्वाचनमा सकारात्मक परिणाम ल्याउने विश्वास व्यक्त गरेका छन्। कार्यक्रममा स्थानीय कार्यकर्ता तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो।

प्रतिक्रिया