
श्रेणी : अपराध
काठमाडौं, १३ चैत्र । सिरहाकी १७ वर्षीया किशोरी रिंकुकुमारी सदाय मृत्यु प्रकरणमा संलग्न भएको आरोपमा वडासदस्य नथुनी साह कारागार चलान भएका छन्। सिरहा जिल्ला अदालतका न्यायाधीश श्रीप्रकाश उप्रेतीको इजलासले साहलाई पुर्पक्षका लागि जेल पठाउने आदेश दिएको हो।
घटनामा संलग्न रहेको भन्दै पक्राउ परेका अन्य रामकृपाल मण्डल, विन्देश्वर साह, करिया मुसहर, रामदेव सदा र दुई नाबालकलाई जनही १ लाख ५० हजार रुपैयाँ धरौटीमा रिहा गरिएको छ। त्यस्तै, रामविनोद मण्डल र कमलेश कुमार दासलाई साधारण तारेखमा रिहा गरिएको छ। उनीहरूविरुद्ध जातीय छुवाछुत तथा भेदभाव, आत्महत्या दुरुत्साहन, जबरजस्ती करणी र मिलापत्र गराउने आरोपमा मुद्दा दायर गरिएको छ।
बलात्कारको आरोप लागेपछि गाउँमै पञ्चायत बसाएर घटना मिलाउने प्रयास गरिएको थियो। मुलुकी फौजदारी संहिता २०७४ को दफा २२७ (क) अनुसार मिलापत्र गराउनेहरूमाथि कानुनी कारबाही सुरु गरिएको छ। सिरहा नवराजपुर गाउँपालिका-१ भगवतीपुरकी रिंकु ३० माघमा आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन्।
२६ माघको राति शौच गर्न गएकी रिंकु हराएकी थिइन्। ६ घण्टा बेपत्ता भई बिहान रोइरहेको अवस्थामा भेटिएकी उनले परिवारलाई सामूहिक बलात्कार भएको बताएकी थिइन्। रुपेश मण्डल, टिंकु मण्डल र चन्दन साहेलाले बलात्कार गरेको बताइएकी थिइन्। ३० माघमा पञ्चायती मिलापत्र चल्दै गर्दा रिंकु मृत फेला परेकी थिइन्।
घटनापछि गाउँमै पञ्चायती मिलापत्र गरिएको खुलासा भएको छ। बलात्कार आरोपितलाई १ लाख ५० हजार जरिबाना गर्ने निर्णय भए पनि पीडित परिवारले अस्वीकार गरेका थिए। मिलापत्रको प्रयास असफल भएपछि पुनः पञ्चायत बसेको थियो। त्यही दिन रिंकु आफ्नै घरमा झुण्डिएको अवस्थामा भेटिइन्। १० जना अझै फरार रहेका कारण प्रहरी अनुसन्धान जारी छ।

प्रतिक्रिया