श्रेणी : प्रदेश
काठमाडौं, १७ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट निष्कासन गरिएका पूर्व महामन्त्री मुकुल ढकाललाई पार्टीमा पुरानै जिम्मेवारीसहित फर्काउन माग उठेको छ। कोशी प्रदेशका सभापति राजेश तिम्सिना र मधेश प्रदेशका महामन्त्री तपेश्वर यादवले कार्यवाहक सभापति डीपी अर्याललाई पत्र पठाउँदै यस्तो माग गरेका हुन्।
सभापति तिम्सिनाले ढकाललाई निष्कासन गरेपछि पार्टी अझै कमजोर भएको उल्लेख गर्दै आफ्नो निर्णय फिर्ता लिएको जनाएका छन्। पत्रमा तिम्सिनाले “राइट टु रिकल” को प्रावधानअनुसार सहमति फिर्ता लिन सकिने पार्टी नीतिलाई आधार बनाउँदै ढकाललाई पुरानै जिम्मेवारीमा फर्काउनुपर्ने धारणा राखेका छन्।
उनले भनेका छन्, “एकापसमा भिड्नुको साटो मिलेर पार्टी निर्माण गर्न आवश्यक छ। यस कारण पूर्व महामन्त्री ढकाललाई पुरानै भूमिकामा फर्काउने माग गर्दछु।”
मधेश प्रदेशका महामन्त्री तपेश्वर यादवले पनि ढकाललाई पार्टीमा फर्काउनुपर्नेमा जोड दिएका छन्। उनले रास्वपाले वैकल्पिक राजनीति र नेपाली जनताको आशा-आकांक्षाको प्रतिनिधित्व गरिरहेको उल्लेख गर्दै आपसी मनमुटाव त्यागेर एकतामा जोड दिन आग्रह गरेका छन्। यादवले भनेका छन्, “पार्टीको वर्तमान संकटलाई फुटेर होइन, जुटेर समाधान गर्नुपर्छ।”
गत असारमा पार्टीले संस्थापक महामन्त्री एवम् प्रवक्ता मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको थियो। तर हालका पत्रहरूले पार्टीभित्रको असन्तुष्टि उजागर गर्दै ढकाललाई पुनः जिम्मेवारीमा ल्याउन दबाब बढाएको देखिन्छ।
रास्वपा हाल आन्तरिक कलहको कारण कठिन परिस्थितिमा रहेको छ। नेतृत्वले ढकालप्रति भएको कारबाही पुनर्विचार गरेर पार्टी एकताका लागि ठोस कदम चाल्नुपर्ने माग तीव्र बन्दै गएको छ।
प्रतिक्रिया