श्रेणी : अर्थ
काठमाडौं, २१ पुुस । नेपाल राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता नियन्त्रण गर्न आज ५० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट खिच्ने प्रक्रिया सुरु गरेको छ। २१ दिन अवधिका लागि जारी गरिएको यो निक्षेप संकलन बोलकबोल प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन सक्नेछन्।
राष्ट्र बैंकले दिउँसो २ बजे बोलपत्र पेश गर्ने समय निर्धारण गरेको छ। न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँको गुणांकमा रकम बोलपत्र गर्न सकिने व्यवस्था गरिएको छ। यो निक्षेप संकलनको सावाँ र ब्याज भुक्तानी आगामी माघ १३ गते हुनेछ।
बोलकबोल प्रक्रियामा सहभागी संस्थाहरूले प्रस्तावित ब्याजदर दशमलव पछाडिका चार अंकसम्म उल्लेख गर्नुपर्नेछ। बोलपत्रको मूल्यांकन गर्दा सबैभन्दा कम ब्याजदरलाई प्राथमिकतामा राखी क्रमशः बाँडफाँट गरिनेछ। समान ब्याजदर भएका प्रस्तावहरू कुल रकमभन्दा बढी भएमा ‘प्रो–रेट बेसिस’मा बाँडफाँट गरिनेछ।
स्वीकृत बोलपत्रहरूको रकम राष्ट्र बैंकले सम्बद्ध संस्थाको खाता खर्च गरी लिनेछ र निक्षेपको लागि छुट्टै खाता खोल्न निर्देशन दिएको छ।
स्वीकृत बोलपत्रको रकम समयमा खातामा पर्याप्त नपाएमा सम्बद्ध संस्थालाई कालोसूचीमा राखी आगामी बोलपत्रमा सहभागी हुन रोक लगाइनेछ।
यो प्रक्रिया बजारमा अधिक तरलता व्यवस्थापन गर्न र ब्याजदरलाई स्थिर राख्न राष्ट्र बैंकले लिएको नीतिगत कदम हो।
प्रतिक्रिया