वीरगन्ज :

“राष्ट्रिय हितका लागि काम गर्न तयार छु” : सुशीला कार्की

श्रेणी : BANNER

2 days
Pradeep Sah
2.0kViews
1352 Shares

काठमाडौं,२६ भदौ । अन्तरिम सरकारको नेतृत्वका लागि जेन–जी युवाबाट प्रस्तावित पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले आफू राष्ट्रिय हितका लागि काम गर्न तयार रहेको बताएकी छन्। युवापुस्ताले गरेको विश्वासप्रति उनले कृतज्ञता प्रकट गरेकी छन्।

भारतीय टेलिभिजन च्यानल न्यूज १८ सँगको कुराकानीमा ७१ वर्षीया कार्कीले भनिन्, “जेन–जी समूहले मलाई छोटो अवधिका लागि सरकारको नेतृत्व गर्न विश्वास गर्‍यो, म राष्ट्रिय हितका लागि काम गर्न तयार छु।”

कार्कीले आफ्नो विद्यार्थी जीवन भारतसँग जोडिएको स्मरण गर्दै भारतीयहरूसँग गहिरो सम्बन्ध रहेको बताइन्। सन् १९७५ मा वाराणसीस्थित बनारस हिन्दु विश्वविद्यालय (बीएचयू) बाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेकी उनले भनिन्, “भारतीय साथीहरूले मलाई दिदी–बहिनी जस्तै व्यवहार गर्छन्।”

प्रधानमन्त्री नरेन्द्र मोदीसहित भारतीय नेताबाट आफू प्रभावित भएको उल्लेख गर्दै उनले थपिन्, “भारतसँगको सम्बन्ध धेरै पुरानो हो। भारतले नेपाललाई धेरै सहयोग गरेको छ, भारतीयहरूले सधैं नेपालको भलो नै चाहेका हुन्छन्।”

भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध जेन–जी युवाले गरेको आन्दोलनमा सरकारी दमन हुँदा १९ जनाको ज्यान गएका बेला कार्की आफैं पनि सडकमा उपस्थित भएकी थिइन्।

न्यूज १८ सँगको अन्तर्वार्तामा उनले आफू एक्लै नभई सामूहिकतामा विश्वास गर्ने उल्लेख गरिन्। “सर्वोच्च अदालतमा काम गर्ने बेलामा पनि मैले सामूहिकतामै निर्णय गरेका थिएँ,” उनले भनिन्, “भविष्यमा पनि सोही मूल्यमा अडिग रहन्छु।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *