पोखरा,२५ फागुन – समिट एअरको जहाज चार्टर गरेर परिवारसहित माघ २७ गते पोखरा आएका पूर्वराजा ज्ञानेन्द्र शाह महिनादिन लामो बसाइपछि आइतबार काठमाडौं फर्कंदै छन् ।
ज्ञानेन्द्र यसअघि पनि पोखरा आउँथे र जान्थे । तर यसपालि उनको पोखरा बसाइ महिनादिन लामो मात्र भएन, उनका गतिविधि र अभिव्यक्तिले राष्ट्रिय राजनीतिमा समेत ठूलै तरंग ल्याइदिएको छ ।
त्यसो त ठूला दलका नेता कुनै हालतमा राजतन्त्र फर्कने सम्भावना छैन भन्ने अभिव्यक्ति दिनै व्यस्त छन् । राजनीति गर्न चाहे दल दर्ता गरेर निर्वाचनमा होमिन उनीहरुले सुझाव दिएका छन् । यसले के संकेत गरेको छ भने पूर्व राजाको पछिल्ला गतिविधि र अभिव्यक्तिले ठूला राजनीतिक दललाई समेत सोच्न वाध्य बनाएको छ । र त उनीहरुले लगातार प्रतिक्रिया जनाइरहेका छन् ।
माघ २७ गते पोखरा आएका पूर्वराजा ज्ञानेन्द्रले प्रजातन्त्र दिवसमा फागुन ६ गते लामै भिडियो सन्देश दिए । जुन सन्देशले उनी आफै राजतन्त्र फर्काएर गद्धी आरोहण गर्न इच्छुक छन् भन्ने प्रष्ट्याएको छ ।
त्यतिबेला उनले राष्ट्रको समृद्धि र उन्नतिका लागि आफ्नो साथ आवश्यक रहेको उल्लेख गरेका थिए । उनले राष्ट्रिय समस्या समाधानका लागि विगतमा आफूले त्याग गरेको र अब पनि त्याग गर्न तयार रहेको भन्दै राष्ट्रिय एकता कायम गर्न सबैलाई आह्वान गरेका छन् ।
प्रतिक्रिया