वीरगन्ज :

राष्ट्रिय परिचयपत्रकै आधारमा बीमा दर्ता र नवीकरण सम्भव

श्रेणी : BANNER

2 hours
Pradeep Sah
2.8kViews
1378 Shares

काठमाडौं,०२ चैत । स्वास्थ्य बीमा कार्यक्रमलाई डिजिटल प्रणालीमार्फत सहज र प्रभावकारी बनाउने लक्ष्यसहित स्वास्थ्य बीमा बोर्डले राष्ट्रिय परिचयपत्र (एनआईडी) प्रणालीसँग सहकार्य सुरु गरेको छ।

स्वास्थ्य बीमा बोर्ड र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच हस्ताक्षर भएको सम्झौतापत्रअनुसार अब स्वास्थ्य बीमामा नागरिकको छुट्टै कार्ड नबनाई एनआईडी नम्बरकै आधारमा सेवा लिन सकिनेछ। सम्झौतामा राष्ट्रिय परिचयपत्र विभागका महानिर्देशक नमराज घिमिरे र स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा। कृष्ण प्रसाद पौडेलले हस्ताक्षर गरेका छन्।

स्वास्थ्य बीमा बोर्डका सूचना अधिकारी विकेश मल्लका अनुसार सहकार्यपछि स्वास्थ्य बीमाको दर्ता र नवीकरण प्रक्रिया क्रमशः अनलाइनमार्फत गरिने तयारी भइरहेको छ। मल्लले भने, “एनआईडी नम्बरसँग प्रणाली जोडिएपछि डाटा प्रमाणीकरण सहज हुनेछ, दोहोरो दर्ता कम हुनेछ र कार्डको दुरुपयोग घट्नेछ।”

हाल करिब एक करोड नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भइसकेका छन्। तर म्यानुअल प्रणालीका कारण कतिपय स्थानमा विवरण दोहोरिने, उमेर वा विवरण नमिल्ने र गलत प्रयोग हुने समस्या देखिएको थियो। नयाँ डिजिटल प्रणालीमार्फत नागरिकले स्वयं अनलाइनमार्फत स्वास्थ्य बीमामा आबद्ध हुने वा नवीकरण गर्ने सुविधा पाउनेछन्। भविष्यमा बायोमेट्रिक प्रमाणीकरणसमेत लागू गर्ने योजना रहेको छ।

नयाँ व्यवस्थासँगै स्वास्थ्य बीमाको दर्ता र नवीकरण प्रक्रियामा झन्झट हट्नेछ र नागरिकले अस्पताल तथा सेवा केन्द्रहरूमा छिटो सेवा पाउनेछन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *