
श्रेणी : BANNER


वीरगंज (पर्सा), २२ चैत / नेकपा एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गान ‘सयौंँ थुँगा फुलका हामी’ शुरु हुनु अगावै बज्ने धुन हटाउन सरकारलाई ध्यानाकर्षण गराएका छन् । अखिल नेपाल पिछडावर्ग (ओ.बि.सि.) महासंघको प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन शत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथि एमालेका अध्यक्ष ओलीले देशको राष्ट्रिय गान शब्दबाट शुरु हुनुपर्छ र शब्दमा नै अन्त्य हुन्छ, त्यसैले गीत अगाडि पछाडि सिंगार पटार गरेर धुन राख्नुपर्ने आवश्यकता नरहेको गीत अगाडि बज्ने ट्याँ ट्याँ धुन हटाउनुपर्ने सरकारलाई ध्यानाकर्षण गराए ।
हामीले राष्ट्रिय गान गाई रहँदा पृष्ठभूमिमा देखाइने नेपालको नक्सामा पनि नयाँ चुच्चेवाला नक्सा नराखी पुरानै नक्सा राखिएकोले त्यसलाई पनि सच्याउन ध्यानाकर्षण गराउँदै अध्यक्ष ओलीले विविधताले भरिएको हाम्रो देशमा हिमाल, पहाड तराई एक अर्कासँग जोडिएको बताए । हिमाल भनेको प्रकृत्तिको सबैभन्दा ठूलो सम्पत्ति हो, जुन हाम्रो देशमा छ, यसले संसारको तापक्रमलाई सन्तुलनमा राख्न असाधारण महत्वपूर्ण भूमिका खेल्ने गरेकोले यो हाम्रो लागि गौरवको विषय रहेको बताए ।
जैविक विविधता, वनस्तपति विविधता लगायत विविधितै विविधताले भरिएको हाम्रो देश हो, र यो हाम्रो लागि सम्पन्नता रहेको भन्दै अध्यक्ष ओलीले यहाँ विविधताको लडाई नभई विभेदको लडाई रहेको बताए । उनले ‘यहाँ विविधताको लडाई छैन, हिमाल र पहाडमा बस्नेले बाक्लो कपडा लगाउँछ भने तराईमा बस्नेले धोर्ती कुर्ता लगाउँछ, लडाई यसका बीचमा होईन, लडाई ‘को पछाडि पारियो, कसलाई गरिब बनाइयो ? को को शिक्षा, स्वास्थ्यबाट बञ्चित भए र किन गरियो ? यस विषयमा हाम्रो लडाई रहेको बताए ।यहाँ पहिला कुनै पनि राजमार्ग थिएन, आफू प्रधानमन्त्री हुँदा बखत विभिन्न राजमार्गको कामहरु भएको दाबी गरे । उनले आफू प्रधानमन्त्री हुँदा हुलाकी सडक, मदण्ड भण्डारी राजमार्ग, साढे ४ सय भन्दा बढि पक्की पुल निर्माण गरिएको र अझै पनि निर्माण कार्य हुँदै गरेको, टोर्नाडो पीडितहरुको नयाँ घर निर्माण लगायतका थुप्रै कार्यहरु भएको स्मरण बताए ।
कार्यक्रममा नेकपा एमालेका नेता रघुवीर महासेठले हामीले सबै जातजातिलाई समेटेर जानुपर्ने बताए । उनले नेकपा एमालेको जनाधार हाम्रो पेशा वर्ग मात्रै होइन, यहाँ बस्ने सबै जातजाति जनाधारभित्र पर्छ, त्यसैले हामीले सबैलाई समेटेर हिँड्नुपर्छ भन्दै नेता महासेठले नयाँ नेतृत्व चयन गर्दा सबै दृष्टिकोणले बुझेर मात्रै नेतृत्व चयन गर्नुपर्ने सुझाव दिए ।
नेपाल पिछडावर्ग (ओ.बि.सि.) महासंघको केन्द्रिय अध्यक्ष ततेजप्रकाश निषादको सभापतित्वमा आयोजित उद्घाटन समारोहमा पूर्वमन्त्री ज्वाला साह, पार्टीका संगठन विभाग प्रमुख भानुभक्त ढकाल, सचिव रचना खड्का, नेकपा एमालेका नेता अरविन्द सिंह, उमेश गुप्ता लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा २२ जिल्लाका ४४ जातजातिहरुको प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।




प्रतिक्रिया