श्रेणी : अन्तर्राष्ट्रिय
काठमाडौं, ०८ माघ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाका ४७ औं राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाई दिएका छन्। उनीहरुले मंगलबार सामाजिक सञ्जाल एक्समार्फत बधाई दिँदै ट्रम्पलाई कार्यकाल सफलताका लागि शुभकामना व्यक्त गरेका हुन् ।
राष्ट्रपति पौडेलले नेपाल र संयुक्त राज्य अमेरिकाबीचको सौहार्दपूर्ण सम्बन्ध आगामी दिनहरूमा अझ प्रगाढ र विस्तार हुने विश्वास व्यक्त गरेका छन् ।
यसैगरी प्रधानमन्त्री ओलीले नेपाल र अमेरिकाको साझेदारीलाई अझ बलियो बनाउन सँगै काम गर्न तत्पर रहेको बताएका छन् ।
उनले भनेका छन्,‘अमेरिकाको ४७ औं राष्ट्रपतिको रूपमा पदभार ग्रहण गर्नुभएकोमा महामहिम श्री डोनाल्ड जे. ट्रम्पलाई बधाई छ, सफल कार्यकालको लागि शुभकामना।’ उनले भनेका छन्, ‘नेपाल र अमेरिकाले ७५+ वर्षभन्दा बढी न्यानो सम्बन्ध साझा गरेका छन्, र म हाम्रो साझेदारीलाई अझ बलियो बनाउन सँगै काम गर्न तत्पर छु ।’
सोमबार क्यापिटल हिलमा आयोजित भव्य समारोहमा दोस्रो कार्यकालका लागि ट्रम्पले सपथ लिएपछि राष्ट्रपतिका रूपमा पदभार ग्रहण गरेका छन् ।
ट्रम्पले आफ्नो उद्घाटन भाषणमा अब अमेरिकामा स्वर्ण युग सुरु भएको उल्लेख गरे। उनले भने,‘अबको भविष्य हाम्रो हो । हाम्रो स्वर्ण युग भर्खरै सुरु भएको छ ।’
प्रतिक्रिया