
श्रेणी : राजनीति
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रेस स्वतन्त्रता नभए सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत नहुने बताएका छन् । बाराको कलैयामा शनिबार आयोजित नेपाल प्रेस युनियन मधेस प्रदेशको प्रथम अधिवेशनको उद्घाटन गर्दै महामन्त्री थापाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत हुन नदिने खेल भइरहेको बताए ।
संविधान मान्ने र नमान्ने दुई पक्ष मुलुकमा देखिएका उल्लेख गर्दै उनले संविधान पक्षधर सम्पूर्ण लोकतन्त्रवादी एकजुट हुनुको विकल्प नरहेको बताए । “प्रेसलाई सङ्कुचन पारेर सङ्घीयतालाई समाप्त पार्ने खेल भइरहेको छ”, महामन्त्री थापाले भने, “सबैले सजग र सचेत भई सङ्घीयताको रक्षा गर्ने बेला आएको छ ।”
कांग्रेसलाई कमजोर पार्नका निमित्त र मुलुकमा अधिनायकवाद लाद्न तथा अस्थिरता सिर्जना गर्ने प्रयास भइरहेको उनको भनाइ थियो । देशलाई विकास र समृद्धितर्फ उन्मुख गराउन तथा विधिको शासन सही दिशामा डोर्याउनका लागि पनि एमाले बाहेकका पार्टीको तर्फबाट राष्ट्रपति बनाउनुपर्ने महामन्त्री थापाको भनाई थियो ।
उनले भने, ‘राष्ट्रपतिले अहिले जसरी संविधान अनुसार अभ्यास गरिरहनुभएको छैन । फेरि एमालेले खल्तीबाट निकाले त्यो पात्र राष्ट्रपति होइन आदेश पालक हुन्छ ।’

प्रतिक्रिया