श्रेणी : BANNER
वीरगन्ज, ११ पुस । त्रिवेणी ग्रुप अन्तर्गतको अन्नपूर्णा भेजिटेबल प्रोडक्ट्स प्रालिको ‘रानी’ ब्रान्डको सरसो तेलमा चिसोमा जम्ने समस्या देखा परेको छ । ब्याच नम्बर ०१ (प्याकेट मिति ०८१–०४) मा उत्पादन गरिएको “कच्ची घानी सरसों तेल ग्रेड–१” चिसोमा घ्युजस्तै जम्ने गरी गुणस्तरमा गम्भीर प्रश्न उठेको हो ।
खाद्य प्रविधि र गुण नियन्त्रक विभागका अनुसार शुद्ध सरसो तेल चिसोमा कहिल्यै जम्दैन। चिसोमा तेल जम्नुलाई जनावरको बोसो मिसावटको सङ्केत मानिएको छ, जसले मानव स्वास्थ्यमा गम्भीर जोखिम ल्याउन सक्छ ।
विशेषज्ञहरूले यस्तो तेलमा ट्रान्स फ्याटको मिसावट हुने शङ्का व्यक्त गरेका छन्, जुन जनावरको बोसो वा हाइड्रोजिनयुक्त वनस्पति तेलबाट उत्पादन गरिन्छ। ट्रान्स फ्याटले धमनी साँघुरो बनाउने, हृदयाघात, र मस्तिष्कघातको जोखिम बढाउने प्रभाव पारेको छ ।
अन्नपूर्णा भेजिटेबल प्रोडक्ट्सका सञ्चालक प्रभु दयाल कन्दोईले गल्ती स्वीकार गर्दै उक्त ब्याचको तेल बजारबाट फिर्ता लिइएको र डेढ–दुई सय कार्टुन फिर्ता भएको बताएका छन्। यद्यपि, बजारमा अझै चिसोमा जम्ने तेल पाइने उपभोक्ताहरूले जानकारी गराएका छन् ।
खाद्य सुरक्षा विशेषज्ञहरूले चिसोमा जम्ने तेल अखाद्य हुने भन्दै उपभोक्तालाई यस्ता तेल प्रयोग नगर्न चेतावनी दिएका छन् । त्रिवेणी ग्रुपले भविष्यमा यस्ता त्रुटिहरू नदोहोरिने आश्वासन दिनुपर्ने उपभोक्ताको माग छ ।
यस घटनाले गुणस्तरहीन खाद्य वस्तुको असर र यसलाई नियन्त्रण गर्न आवश्यक निगरानी प्रणालीको आवश्यकता उजागर गरेको छ ।
प्रतिक्रिया