
श्रेणी : प्रदेश
काठमाडौं,०८ चैत । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले देशभरि फैलिएको प्रतिगामी हर्कत र योजनाबद्ध गतिविधिहरूको विरोध गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाको लागि जनसचेतना अभियान सुरु गर्ने घोषणा गरेको छ।
एमालेले आगामी चैत ११ गतेदेखि देशभरि एकै समयमा वडामा वडामा जनसचेतना कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ। यस अभियानको उद्देश्य जनतालाई लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानका उपलब्धिहरूको रक्षा गर्न सचेत पार्नु हो।
चैत ११ देखि ३० गतेसम्म एमालेका कार्यकर्ता विभिन्न कार्यक्रम मार्फत जनचेतना फैलाउनेछन्, जसमा विशेषत: प्रतिगामी गतिविधिहरूको विरोध गर्न सडकमा प्रदर्शन र सभा आयोजना गरिनेछ। साथै, चैत १८ गते धनगढी, सुर्खेत, बुटवल, पोखरा, बीरगन्ज र दमकमा मोटरसाइकल र्याली समेत गरिने योजना बनाइएको छ।
नेकपा (एमाले) केन्द्रीय सचिवालयको यही चैत ४ गते बसेको ४६औं बैठकले लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानविरुद्ध भइरहेका सुनियोजित गतिविधिहरूप्रति गम्भीर रूपमा छलफल गरी पार्टी नेपालको संविधान र यसले संस्थागत गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशी प्रणाली र सामाजिक न्याय जस्ता उपलब्धिको रक्षाका लागि दृढतापूर्वक उभिने संकल्प गरेको थियो ।
महासचिव पोखरेलले जनचेतना अभियान सञ्चालन गर्दा तथ्यका आधारमा गर्न पनि निर्देशन दिए। महासचिव पोखरेलले पञ्चायतकालीन र लोकतन्त्रको अवधिमा भएका आर्थिक र सामाजिक विकासका साथै जनताको जीवनस्तरमा आएको व्यापक परिवर्तन सम्बन्धमा तथ्यगत विवरण समेत जानकारी गराएका थिए ।
सो क्रममा उनले पञ्चायतको अन्त्यपछि कुल गार्हस्थ उत्पादन, प्रतिव्यक्ति आय, निरपेक्ष गरिबी दर, सडक सञ्जाल विस्तार, जनतालाई आधारभूत पिउने पानीको उपलब्धता, सञ्चार सुविधा, विद्युत उत्पादन तथा उपभोग, नेपालीको औसत आयु वृद्धि, शिशु मृत्युदरमा न्यूनीकरण लगायतका महत्वपूर्ण सूचकहरूमा ऐतिहासिक उपलब्धि भएको उल्लेख गरे।
कार्यक्रम निम्नानुसार छन्ः
प्रतिगामी कुप्रयासका विरूद्धमा पार्टीको वडाकेन्द्रित अभियानलाई जोड्दै चैत ११ गते देशभरका सबै वडाहरूमा एकसाथ जनसचेतना कार्यक्रम सञ्चालन गर्ने । सङ्घीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा नागरिक समाज र विभिन्न पक्षसँग केन्द्र र जिल्लास्तरमा अन्तर सम्वाद कार्यक्रम आयोजना गर्ने ।
चैत १८ गते काठमाडौं उपत्यका, कैलाली, सुर्खेत, रुपन्देही, कास्की, पर्सा र झापा बाहेकका सबै जिल्लामा जिल्लास्तरीय जनप्रदर्शन र जागरण सभा आयोजना गर्ने । जागरण सभा नहुने जिल्लाका हकमा वृहत मोटरसाइकल र्याली गर्ने ।
चैत २४ देखि ३० गतेभित्र धनगढी, सुर्खेत, बुटवल, पोखरा, बीरगन्ज र दमकमा विशेष सभाको आयोजना गर्ने । काठमाडौं उपत्यकाको विशेष सभाको योजना पछि तय गरिने ।

प्रतिक्रिया