वीरगन्ज :

राजावादी आन्दोलन नरोकिएसम्म ज्ञानेन्द्र शाही अंगरक्षक सुविधा नपाउने

श्रेणी : प्रदेश

4 weeks
Pradeep Sah
2.8kViews
1012 Shares

काठमाडाैं,२१ जेठ । पूर्वराजा फर्काउने आन्दोलन चर्काइरहेका राजावादी नेताहरूले आन्दोलन नरोक्दासम्म अंगरक्षक (PSO) सुविधा नपाउने भएका छन्। गृह मन्त्रालयले जेठ १३ गते राप्रपाका नेताहरू ज्ञानेन्द्र शाही, दीपकबहादुर सिंह र ध्रुबबहादुर प्रधानलाई दिँदै आएको सुरक्षा सुविधा फिर्ता लिएको हो।

बुधबार बसेको प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री रमेश लेखकले आन्दोलनकै कारण पीएसओ फिर्ता गरिएको स्पष्ट पारे। सांसद बुद्धिमान तामाङको प्रश्नको जवाफ दिँदै गृहमन्त्री लेखकले आन्दोलनमा व्यापक सुरक्षा व्यवस्थापन गर्नुपर्ने भएकाले उनीहरूको व्यक्तिगत सुरक्षा खटाइएका सुरक्षाकर्मीहरूलाई अन्यत्र तैनाथ गर्नुपरेको बताए।

“आन्दोलनको बेला सुरक्षाको आवश्यकता बढी पर्छ। त्यसैले ती अंगरक्षकहरूलाई अहिलेको सुरक्षात्मक जिम्मेवारीका लागि खटाइएको हो,” मन्त्री लेखकले भने, “आन्दोलन शान्त भएपछि उनीहरूको सुरक्षा पुनः प्रदान गरिनेछ।”

गृहमन्त्री लेखकले आन्दोलनरत राजावादीहरूलाई संविधान विपरीतका गतिविधिमा नलाग्न आग्रह पनि गरे। उनले गणतन्त्र फाल्ने प्रयासलाई ‘निरर्थक र मुलुकलाई अराजकतातर्फ धकेल्ने’ भन्दै चेतावनी दिए। “संविधानविपरीतको मार्गबाट मुलुक अन्धकारमा जान्छ, त्यो बाटो नअपनाउनुहोस्,” गृहमन्त्रीले भने।

उता, राजावादी पक्ष भने आन्दोलनलाई अझ सशक्त बनाउने तयारीमा जुटेको छ। जेठ १५ गतेदेखि लगातार पाँच दिन प्रदर्शन गरेका उनीहरूले आज दिउँसो २ बजे संयुक्त जनआन्दोलन समितिको बैठक बोलाएका छन्। बैठकले एक हप्ताको आन्दोलनको समीक्षा गर्ने र दोस्रो चरणका कार्यक्रम घोषणा गर्ने जनाइएको छ।

काठमाडौं उपत्यकामा सरकारले कोटेश्वर, बल्खु, सिफलचौरबाहेकका स्थानहरूलाई निषेधित क्षेत्र घोषणा गरिसकेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *