वीरगन्ज :

राजालाई घरमै सिंहासन राख्नुस्, देशमा राजतन्त्रको ठाउँ छैन : प्रधानमन्त्री ओली

श्रेणी : प्रदेश

3 months
Pradeep Sah
1.9kViews
1216 Shares

काठमाडौं,१० जेठ । नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले राजावादीहरूको आन्दोलनप्रति कटाक्ष गर्दै देशमा अब राजतन्त्र फर्कन नसक्ने प्रस्ट पारेका छन्। पोखरामा आयोजित युवा संघ नेपालको दशौँ महाधिवेशन उद्घाटन समारोहमा बोल्दै ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई लक्षित गर्दै भने, “सिंहासन चाहिएको हो भने घरमै बनाएर राख्नुस्, देशमा अब त्यस्तो व्यवस्था फर्कदैन।”

उनले राजतन्त्रलाई नेपाली जनताले आन्दोलनमार्फत् फालिसकेको, नयाँ संविधानमार्फत लोकतान्त्रिक गणतन्त्र स्थापना भइसकेको र त्यसमा कुनै पुनरागमन नहुने बताए। “राजतन्त्रले जथाभावी मारेको, समाएको, आतंक मच्चाएको थियो,” ओलीले भने, “हामीले त्यसलाई खोरमा हाल्यौं, खोरबाट पनि निकालेर देशबाहिर फ्याँकिसकेका छौं।”

राजावादीहरूले जेठ १५ गते ‘निर्णायक आन्दोलन’ गर्ने उद्घोष गरेकोप्रति व्यंग्य गर्दै उनले भने, “यिनीहरू कहिले वैशाख ११, कहिले जेठ १५ भन्ने गर्छन्। फेरि अर्को १५ गते भन्छन् होला।”

ओलीले राप्रपाका वरिष्ठ नेताहरू र पूर्वराजा समर्थकहरूको अभिव्यक्तिमाथि तीव्र प्रतिक्रिया जनाए। “राजतन्त्र ल्याउँछौं भनेर जोकरजस्तो कुरा गर्दै हिँड्नेहरू छन्,” उनले भने, “एउटा ठिटो त भन्दैछ— प्रधानमन्त्रीलाई हेलिकप्टर दिएर भाग्न दिन्छौं रे। सपना देख्ने पनि हद हुन्छ।”

प्रधानमन्त्री ओलीले नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति जगमान गुरुङमाथि पनि कटाक्ष गरे। “मैले गुरूजी भनेर नियुक्ति दिएको गुरूङजी ज्योतिष पनि हेर्नुहुँदो रहेछ,” ओलीले व्यंग्य गर्दै भने, “अब ज्ञानेन्द्रको कुण्डली मात्रै होइन, जनताको पनि कुण्डली हेर्नुस्— कुनै राजतन्त्र फर्कँदैन।”

युवा संघलाई प्रतिगमन रोक्न अग्रपंक्तिमा खटिन आह्वान गर्दै ओलीले भने, “देशको लोकतान्त्रिक मूल्य र अधिकारको रक्षा गर्ने जिम्मा युवाहरूको काँधमा छ। प्रतिगमनको कुनै चानचुने प्रयासलाई पनि सफल हुन दिनु हुँदैन।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *