
श्रेणी : मधेस
जनकपुर,२२ चैत । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले अहिलेको शासन व्यवस्था राजाको तानाशाही शासनभन्दा कम नभएको टिप्पणी गरेका छन्। उनले गणतन्त्रको रक्षा गर्ने कुरा भने उठाए पनि संघीयता र त्यसको वास्तविक कार्यान्वयनको बारेमा भने कुनै कुरा नउठाइएकोमा असन्तुष्टि जनाए।
बिहीबार मधेशका सात दलहरूले आयोजना गरेको संघीय लोकतान्त्रिक मोर्चा घोषणाका कार्यक्रममा बोल्दै राउतले संघीयतालाई अझै व्यवस्थित र कार्यान्वयन नगरेको बताएका थिए। उनले भने, “अहिले पनि सीडीओ र एसपीले जिल्लाको शासन चलाइरहेका छन्, यसैगरी सिंहदरबारले प्रदेश र स्थानीय तह चलाइरहेको छ।”
राउतका अनुसार, अहिलेको शासन व्यवस्थामा सिंहदरबारबाट एकल शासन गर्दै देशको स्रोत साधनको दुरुपयोग भइरहेको छ। उनले यसलाई रोक्नको लागि मोर्चा गठन गरिएको बताए। “हामी यहाँसम्म कुनै आशीर्वादबाट होइन, ठूलो आन्दोलन र बलिदानीबाट आएका हौं,” उनले थपे।
संघर्षमा मोर्चा गठनमा महत्वपूर्ण भूमिका निभाएका जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले देश जटिल परिस्थितिमा पुगेको उल्लेख गर्दै मोर्चा कुनै विशेष व्यक्तिको विरोधमा नभएर देशलाई नयाँ दिशा दिनका लागि बनेको बताए। उनले सरकारको कार्यशैलीमा बिचौलियाको हावी भएको आरोप पनि लगाए।
“यो संविधानलाई लावारिस बनाउन प्रयास भइरहेको छ,” त्रिपाठीले भने, “हामीबाट केही त्रुटिहरू भएका छन्, तर अब ती त्रुटि सच्याउँदै अघि बढ्नेछौं।” उनले भने, “अब हामीलाई गल्ती गर्ने कुनै छुट छैन।”

प्रतिक्रिया